काठमाडौँ, २८ चैत
यसवर्षको ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ चितवनका युवा पत्रकार (राससकर्मी) नारायण ढुङ्गानालाई प्रदान गरिएको छ ।
ललितपुरको पुल्चोकमा आज आयोजित एक समारोहमा पत्रकारितामार्फत ललितकलाको विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा स्मरण गर्दै उहाँलाई रु ११ हजार १११ रुपैयाँ पुरस्कार राशीसहित उक्त सम्मान प्रदान गरिएको हो ।
पत्रकार ढुंगानाले विविध विधामा रहेर विगत झण्डै १५ वर्ष चितवनबाट पत्रकारिता गर्नुभएको थियो । विसं २०७५ सालपछि उहाँ राजधानीमा रहेर पत्रकारिता गरिरहनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का उपसमाचारदाता चितवनको कालिका नगरपालिका ८ शक्तिखोर, न्युरेनीका पत्रकार ढुंगाना हाल ललितकलाका साथै अपराधलगायत विधामा पत्रकारिता गरिरहनुभएको छ ।
यसअघि उहाँले दुई दर्जन पुरकार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । सामाजिक परोपकारी पत्रकारितामा पनि उहाँको गहिरो रुचि छ ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज नेपाल) ले हरेक वर्ष स्वर्गीय सिंहको स्मृतिमा उक्त पुरस्कार प्रदान गर्दै आए पनि गतवर्ष भने कोभिडका कारण कार्यक्रम स्थगित भएको थियो ।
सिंहले विसं २०१६ पछि गोरखापत्रमा आवद्ध भएर नेपाली कला क्षेत्रको विकासमा योगदान गर्नुभएको थियो । उहाँ मधुपर्कको पनि सम्पादक पनि बन्नुभएको थियो ।
त्यसैले उहाँको सम्मानमा उक्त पुरस्कार घोषणा गरी वितरण गर्दै आइएकोमा यसपटक भने ढपत्रकार ढुंगानालाई दिइएको हो ।
यस्तै मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई ‘सोफाज–ललितकला पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । सोफाजले ‘लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार’ भने कान्तिपुरका पत्रकार शुसिला तामाङलाई प्रदान गरेको छ ।
सबैलाई रु ११ हजार १११ पुरस्कार राशीसहित सम्मान गरिएको हो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले उहाँहरुलाई कदरपत्रसहित सम्मान प्रदान गर्दै कला कलाका लागि नभई जीवनका लागि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “रङको संयोजन गर्नु भनेको इन्जिनियरिङ भाषामा प्रविधिको प्रयोग हो, कसरी रङको प्रयोग गर्नेपर्छ, कुनकुन रङ मिसाएर कस्तो रङ बनाउने भन्ने कुरा पनि प्राविधिक भएकाले समाजमा कलाको महत्व अहम छ ।”
प्राडा थापाले विश्वमा चिकित्सक, इन्जिनियरले देशलाई चिनाउन नसक्ने तर कला सिर्जनाले चिनाउने हुँदा यसको छुट्टै पहिचान रहेकाले इन्जिनियरिङ क्षेत्रमा कला संयोजन गर्ने प्रयास आफुले थालेको बताउनुभयो ।
सम्मानितका तर्फबाट भनाई राख्नुहुँदै मधुपर्कका सम्पादक भट्टराईले स्व नारायणबहादुर सिंहको कला÷साहित्यमा स्तरीय योगदान रहेको र उहाँ कला पत्रकारिता पायोनियर र समीक्षक भएको स्मरण गर्नुभयो ।
समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय लालकाजी लामा र रमेशनाथ खनालले ललितकला विकासमा स्व नारायणबहादुर सिंहले पुर्याएको योगदानको स्मरण गर्दै ललितकला र त्यसका कलाकारलाई प्रोत्साहन दिनमा सोफाजको योगदान महत्वपूर्ण रहेको सम्झना गर्नुभयो ।
अक्षश्वर परम्परागत बौद्ध कला महाविद्यालयका अध्यापक उदय बज्राचार्यले पत्रकारहरुलाई सम्मान दिनु भनेको नेपाली ललितकला क्षेत्रकै सम्मान भएको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा क्रोधकला शिरोमणि फाउन्डेसनका अध्यक्ष राकेश अवालेले ललितकलाको विकासमा यस विधाका पत्रकारको भूमिका अहम रहेको बताउनुभययो ।
आफ्नो बुला कालु कुमालेलाई क्रोधकला शिरोमणिका रुपमा परिचित गराउन पत्रकारको भूमिका ठुलो रहेको उल्लेख गर्दै उहाँले त्यसैलाई आम्मसाथ गरेर आमाको स्मृतिमा ‘लक्ष्मीमाया स्मृति ललितकला पत्रकारिता’ पुरस्कारका लागि योगदान गरेको जानकारी दिनुभयो ।
उहाँले कालु कुमालेलाई यो ठाउँमा पुर्याउने लक्ष्मीमायाको योगदान ठुलो छ भन्नुभयो ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज नेपाल) का अध्यक्ष केशवराज खनालले स्वर्गीय सिंहले अघि सारेको गोरेटोमा अहिले ललितकला पत्रकार हिँडिरहेको उल्लेख गर्दै त्यसलाई सोफाजले संस्थागत गर्ने प्रयास गरेको बताउनुभयो ।
समारोहमा सोफाजका उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सदस्य रामनाथ घिमिरेलगायतले कला सिर्जनाको विकासका लागि सोफाजको स्थापना गरिएको र पत्रकारिता विधामा ललितकला पत्रकारिता पनि महत्वपूर्ण छ भनेर चिनाउन सफल भएको बताउनुभयो ।
सोफाजले विसं २०७२ सालबाट प्रोत्साहनस्वरुप यसरी पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । rss