चितवन । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दाबी गरेका छन ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लिङदेनले राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताए । उनले यसपटक स्थानीय तहको चुनावमा विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने दाबी गरे । उनले चुनावी तालमेलबारे कुनै निर्णय भैनसकेको समेत बताए । ‘हामीलाई कसैले महत्वपूर्ण पदहरुमा सघाए हामी पनि सघाउन तयार छौूँ, उनले भने , आन्तरिक स्थानीय रुपमै समझदारी हुन सक्छ, तर अहिले कुनै निर्णय भैसकेको छैन ।’ अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरिने बताए । ‘१२ सम्मनै कम्प्युटर शिक्षा, बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तिमा १५ हजार तलबको व्यवस्था गरिनेछ ।’ स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभुत स्वास्थ निस्शुल्क गर्ने, उपचारको अभावमा कोहिले ज्यान गुमाउन नपर्ने गरि पालिकाहरुको नेतृत्व गर्ने उनको भनाई छ । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत कर घटाउने र जेष्ठ नागरिकहरुले पाउदै आएका सेवा सुविधा थप गरि घरदैलोमै सेवा पुर्याइने उनले बताए ।
उनले भ्रष्टाचार शून्य बनाइने पार्टीको मुल एजेण्डा रहेको समेत दाबी गरे । ‘सिंहदरबारको भ्रष्टाचार पनि तल्लो तहसम्म आयो, उनले भने, ूभ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ ।ू उनले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरुको विकास सम्भव रहेको बताए । उनी राप्रपा चितवनको आमसभालाई सम्बोधन गर्न चितवन आएका हुन । आमसभा भरतपुरको पारस बसपार्कमा जारी छ ।