चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्षको चैत्र महिनासम्ममा वन्यजन्तुको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने २० जना सख्त घाईते भएका छन । यस्तै आक्रमणमा परी १९ जना सामान्य घाइते भएको निकुञ्जले जनाएको छ ।
सबैभन्दा बढी मृत्यु बाघको आक्रमणबाट
यो अवधिमा सबैभन्दा बढी मृत्यु बाघको आक्रमणबाट भएको छ । निकुञ्जका अनुसार बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने एकजना घाईते र २ जना सामान्य घाईते भएका छन ।
यस्तै चैत्र महिनासम्म हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु ३ जनाको सख्त घाईते र ३ जना सामान्य घाईते भएका छन । यस्तै गैंडाको आक्रमणबाट २ को मृत्यु १२ जना सख्त घाईते र ६ जना सामान्य घाईते जंगली बंदेलको आक्रमणबाट १ जनाको मृत्यु, ३ जना सख्त घाईते र पांँचजना सामान्य घाईते र गौरी गाईको आक्रमणबाट एकजनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।
यस्तै भालुको आक्रमणबाट एकजना सख्त घाईते र तीनजना सामान्य घाईते , मगर गोहीको आक्रमणबाट एकजना सख्त घाइते भएका छन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बाघ मांसहारी, हिंस्रक जनाबर भएकोले यसको आक्रमणबाट बढी मानिसको मृत्यु हुने गरेको बताउनुभयो । ‘बाघ हिंस्रक , आक्रामक जनावर हो, आचार्यले भन्नुभयो , जंगलमा मानिसले घांँस काट्दा होस या निउरो टिप्दा होस , आफ्नो आहारा जस्तो देख्ने गर्दछ र आक्रमण गरी खाने गर्दछ ।’ अन्य जनावर मांसहारी जनावर नभएको र उनीहरुले आफूलाई असुरक्षित महसुस गर्ने हुनाले उनीहरुको आक्रमणबाट कम मृत्यु र घाईते हुने गरेको उहांँको भनाई छ । ‘गैंडा, हात्ती, गौरी गाईजस्ता जनावरले रिसले हान्ने, कुल्चने घचेट्ने गर्दछन यसबाट मानिसको कमनै मृत्यु हुने गर्दछ । ’उनले भने । सबै घटना निकुञ्ज भित्र र मध्यवर्ती क्षेत्र भित्र हुने गरेको उहांँले जानकारी दिनुभयो ।