बुलिङटार– जटिल रोगबाट उपचार र पहिचान हुनबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बुलिङटार गाउँपालिका र स्वास्थ्य दर्पण मीडिया नेटवर्क भरतपुरको संयुक्त आयोजनामा नवलपरासी , बर्दघाट सुस्तापुर्वमा रहेको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं १ थाम्बेशी र वडा नं २ डाँडाझेरीमा यही बिहीवार र शुक्रवार गरी स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा महिलाहरुकोे स्तन र पाठेघरको मुखको क्यान्सरको चेकजाँच तथा पुरुष बिरामीहरूको मुटु,मधुमेह, दम,पेट रोगबाट प्रभावित ३४० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो।
वरिष्ठ फिजिसियन डा.सुनिल पण्डितको नेतृत्वमा डा.हिमाल खत्री, डा. सिद्धार्थ गौतम,वरिष्ठ क्यान्सर नर्स अयोध्या कुमारी पाठक,वरिष्ठ स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ, रामकुमार महतो, ऋषिकान्त रानाभाट लगायतको टिमले बिरामीको स्वास्थ्य परीक्षा गर्नु भएको थियो। शविरमा (२५ देखि ६०) वर्ष उमेर समूहका महिलाहरुको स्वास्थ्य जाँच गर्दा ३ जनामा( भि.आ.ए .) पोजिटिभ १२ जनामा ( इन्डोसर्भिकल सिस्ट) र ७९ जना महिलाहरुको पाठेघर खसेका समस्या देखा परेको वरिष्ठ नर्स पाठकले बताउनु भयो।
वरिष्ठ फिजिसियन डा पण्डितले मधुमेहबाट प्रभावित विरामी १० जना, उच्च रक्तचापका २० जना, दमका ८ जना साथै जोर्नी रोगबाट प्रभावित धेरै बिरामी देखा परेको बताउनु भयो।कार्यक्रमका सहजकर्ता तथा स्वास्थ्य पत्रकार सन्दिप कुमार श्रेष्ठले थप उपचारका लागि अस्पताल जानु पर्ने बिरामीहरूलाई सबै हिसाबले सहजीकरण गर्ने बताउनु भयो ।
शिविरको प्राविधिक सहयोग भरतपुरमा रहेको श्री पुष्पाञ्जली हस्पिटल प्रा लि र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गरेका थिए। स्थानीय संयोजन बुलिङटार जेसीज र गंगा स्वास्थ्य दर्पण फाउन्डेसन,नेपालको रहेको थियो। औपचारिक कार्यक्रममा बुलिङटार गाउँपालिकाकी उपाध्यक्ष मैना वि क को प्रमुख आतिथ्यता साथै यसै पालिका वडा नं १ का अध्यक्ष दिल बहादुर सूर्यवंशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । यस्ता प्रकारका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिदै सबै वडाहरूमा स्वास्थ्य शिविर संचालन गर्ने बुलिङटार जेसीजका अध्यक्ष समेत रहनु
भएका श्रेष्ठले बताउनु भयो ।