चितवन। नारायणगढमा आज बिहान भीषण आगलागी भएको छ ।
भरतपुर महानगरपालिका ३ कमलनगर स्थित तुल्सिराम सापकोटाको घरमा बिहीबार राति २ बजे आगो लागेको हो । आगलागीका कारण ६ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
सापकोटाको चार तल्ले घरको पहिलो तल्लामा आगो लाग्दा बिष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाईल पसल,बिष्णु आचार्यको दुर्गा ईलेक्ट्रोनिक पसल,बसन्त कार्कीको श्री कृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सुर्यमणि लामिछानेको दियालो फेन्सी पसल तथा गोदाममा क्षति पुर्याएको हो ।
आगो नियन्त्रण गर्न वडा प्रहरी कार्यालय, नारायणघाट र जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी,सेना र शशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणका लागि खटिएको थियो।
भरतपुर महानगरपालिकाबाट १, खैरहनी नगरपालिकाबाट २ र नेपाली सेनाको १ गरि जम्मा ४ वटा दमकलको सहयोगमा बिहान सात बजे आगो निभाइएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बांँकी छ।