काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करीब ८ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करीब १ लाख ५३ हजार उम्मेदवारी परेकोमा करीब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिवार ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
उनका अनुसार १ लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करीब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करीब १ लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।
आयोगले शुक्रवार स्थानीय तह निर्वाचनको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको थियो । स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते हुँदैछ ।
यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ ओटा राजनीतिक दलका उम्मेदवारलाई भने मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने छ ।
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौंमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ ।।
यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल १ लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा ३ हजार २४९ पुरुष र २६८ महिला गरी ३ हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र १ हजार ५६८ महिला गरी २ हजार १७५, गाउँपालिका अध्यक्षमा ३ हजार १४९ पुरुष र १९८ महिला गरी ३ हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र १ हजार ७९१ महिला गरी २ हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।
यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र २ हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले बताएको छ ।
७५३ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।