खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित गोठश्वर आधारभूत विद्यालयका प्रार्चाय निलहरी थापा विद्यालय समयमै नेकपा एमालेको चुनाव प्रचार प्रसारमा हिँडेका छन् । उनी नेकपा एमालेले खैरहनीको डिज्नी पार्क रिसोर्टमा आयोजना गरेको उमेदवार परिचयात्मक कार्यक्रममा विद्यालय पोशाक मानै कार्यक्रम समर्थन गर्न कार्यक्रम स्थलको मञ्चमै पुगेका थिए । सोही कार्यक्रममा थापाले ताली बजाउँदै गरेको फोटो खैरहनी नगरपालिकाका वडा नम्बर २ का एमालेको वडाध्यक्ष पदका उमेद्वार चन्द्रकमल पाण्डेले आफनो फेसबुकको प्रोफाइल फोटो बनाएका छन् ।
गोठश्वोर आधारभूत विद्यालयका प्रार्चाय थापा नेकपा एमालेका बाग्मती प्रदेश सदस्य एवम् शिक्षा विभाग उपप्रमुख समेत छन् । सरकारी पदमा रहेर एमाले पार्टीको प्रचार गर्ने थापालाई विद्यालयको समयमा कहिल्यै विद्यालयमा नभेटिएको विद्यालयका एक शिक्षकले नाम नखुलाउने शर्तमा भने । ‘उहांँ अहिले विद्यालयमा नआएको धेरै दिन भईसक्यो उनले भने, एमालेको प्रचारप्रसारमा उहांँ व्यस्त भएको सबैले देखिरहेकै कुरा हो । ’
स्थानीय निर्वाचन नजिकिदैँ गर्दा आफ्नो पदीय मर्यादालाई समेत कुल्चेर एमालेको चुनाव प्रचार प्रसारमा प्राचार्य थापा हिजोआज व्यस्त भएका हु्न्। ‘म एमाले हुँ र निर्वाचन आचार संहिताले मलाई केही गर्दैन, भन्दै निर्वाचन आचार संहिताको समेत ध्ज्जी उडाउदैँ हिड्छन् उनीसँगै कार्यरत सोही विद्यालयका अर्का शिक्षकले भने , यस्ता नैतिकता गुमाएका व्यक्तिले गर्दा शिक्षा क्षेत्रनै दुर्गन्धित भएको छ ।’
त्यति मात्र होइन थापाको हर्कतले गर्दा विद्यार्थीका अभिभावक पनि वाक्क दिक्क र हैरानी व्यहोर्न बाध्य छन् । ‘विद्यालयमा हेडसरलाई भेट्न आएको उहाँ त एमालेको झण्डा बोकेर भोटमाग्न हिड्नु भएको रहेछ बाबुको पढाइ सम्बन्धी कुरा गर्नु थियो, हेडसरकै पारा यस्तो छ , अरुलाई के भन्ने ?’ एक अभिभावकले भनिन् ।
विद्यालयमा भन्दा एमालेको पार्टी अफिसमा धेरै भेटिने थापा नगर शिक्षा समिति सदस्य समेत छन् । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख भूमिलाल सुवेदीले शिक्षकहरुलाई राजनैतिक कार्यक्रममा सहभागी हुन छुट नभएको बताए । शिक्षक जस्तो गरिमामय पदको दुरुपयोग गर्ने शिक्षकलाई नगर शिक्षा अधिकारीले कारवाही गर्नु पर्ने उनले बताए । यस बिषयमा केही दिन अघि जानकारी आएको भन्दै उनले आँफुपनि यस बिषयमा बुझ्ने क्रममा रहेको बताए ।
नगर शिक्षा प्रमुख राजु बानियाले एक पटकलाई थापालाई मौखिक रुपमा सचेत गराएको बताए । उनले भने “अब फेरी पटक पटक उहांँले उल्लंघन गरे हामी कारवाही गर्न प्रकृया अघि वढाउँछौ ।”