चितवन । रत्ननगरबाट गठबन्धनका साझा मेयरका उमेदवार प्रह्लाद सापकोटाले कांग्रेसको जनलहरले विपक्षीहरु अत्तालिन थालेको बताएका छन् ।
शनिबार बेलुकी रत्ननगर ११ को घरदैलो अभियान कार्यक्रममा सापकोटाले निर्वाचन गठबन्धनले जिल्ने कुरामा कुनै द्विविधा नभएको बताएका हुन् ।
उनले भने, ‘सबैतिर कांग्रेसकै लहर बढेको छ । जनताको हकअधिकारका लागि कांग्रेसले ठूलो संघर्ष गरेको छ । जनताको बलिदानीबाट प्राप्त भएको लोकतन्त्रलाई सिध्याउन खोज्ने प्रतिगामीहरुलाई यस पटकको निर्वाचनमा मतदाताले मतदानमार्फत दण्डित गर्छन् ।’
‘विपक्षीका साथीहरु अत्तालिनु भएको छ, डराउनु भएको छ, चिन्ता गर्नु पर्दैन’, सापकोटाले भने, ‘चुनाव जितेपछि म कांग्रेसको मात्र मेयर होइन, सबै जनताको सबै दलको साझा मेयर बनेर काम गर्नेछु ।’
उमेदवार सापकोटाले भने, ‘म तपाईंहरुले जस्तो आफ्नो अर्को भन्दिनँ, नगरपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउँदिन, कसैलाई पनि निषेध गर्दिनँ, सबैको राय सल्लाह र सुझावको सम्मान गर्छु ।’