भरतपुर, २७ वैशाख । राष्ट्रिय भूमि आयोग चितवनले चुनावी गतिविधि सकिए लगत्तै भूमिहिनहरुलाई लालपुर्जा वितरण सुरु गर्ने जनाएको छ । आयोगका चितवन अध्यक्ष बद्री तिमिल्सिनाले चुनाव सकिए लगत्तै जेठ १० पछि लालपुर्जा वितरणको काम सुरु हुने बताउनुभएको छ । पत्रकार भेटघाट गर्ने क्रममा बोल्र्दै उहाँले निर्वाचन आचारसंहिताका कारण रोकिएको लगत संकलन तथा लालपुर्जा वितरणको काम सुरु हुने बताउनुभयो । भरतपुरमा ४८ जनालाई लालपुर्जानै वितरण भैसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार भरतपुर २, ११, १२, १३, १४, १५, २०, २१, २४, २६ नम्वर वडाहरुमा जग्गा नापजाँचको काम समेत भैसकेको छ । “स्याटेलाइट इमेज प्रयोग गरेर नक्सा बनाउने काम भरतपुरको अधिकाँश वडामा सकेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ जनप्रतिनिधि आउने वित्तिकै सहजीकरण गरेर लगत्तै लालपुर्जा वितरण गर्न सकिनेछ ।” उहाँका अनुसार नापजाँच लगायतका काम सकिएर ३ सय ११ वटा लालपुर्जा बनिसकेको छ । जेठ १० देखिनै उनीहरुलाई लालपुर्जा वितरण गरिने उनको भनाई छ ।
कालिकाको ३, ६, ८, माडिको, ३, ५, ६ र ९ नम्बर वडामा पनि नापजाँचको काम सकिएको बताउनुभयो । “सिमित जनशक्तिको भरमा पनि यसपाली भूमिहिनको पक्षमा धेरै काम भएका छन , उहाँले भन्नुभयो, “वर्षौँ पुराना अधुरा फाईल समेत खोलेर नापजाँचको काम सुरु भएको छ ।” हेटौडाको हटियाबाट नयाँ वस्तीमा राखिएको वस्तीलाई समेत लालपुर्जा दिने तयारी भएको बताउनुभयो । “विगतका २१ वटा आयोग हुंँदा पनि नखोलिएका पुराना फाइलका अधुरा काम गर्न अग्रसर छौँ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि सकारात्मक बने ३ वर्ष चितवनमा भूमिहिन समस्या समाधान गर्न सक्छौँ ।”
उहाँले तत्कालिन भूमिसम्बन्धि समस्या समाधान आयोगले चितवनमा जग्गा नापजाँचको काम समेत गर्न नसकेको आरोप लगाउनुभयो । “त्यो आयोगले टेपिङ गरेको, स्याटेलाइट ईमेज ल्याएर जग्गाको नक्सांकनमात्रै गरेको प्रमाण दिनसक्नुहुन्छ भने म पदबाट राजिनामा दिन तयार छु”, उहाँले भन्नुभयो, “२ महिनाको अवधिमा हामी लालपुर्जा वितरण गर्ने अवस्थामा पुग्यौँ, तर उहाँहरु काम गर्ने इच्छानै देखाउन नसकेपछि हट्नुप¥यो ।” वन, जंगल नभएको, खाली जग्गा, बुट्यान नभएको ठाउँमा १० वर्ष पहिलेदेखि बसोबास गर्दै आएको अवस्थामा समेत बसोबासकै आधारमा लालपुर्जा दिन सक्ने गरी अहिलेको आयोगले अधिकार पाएकाले भूमिहिन समस्या हल गर्न सम्भव भएको बताउनुभयो ।
‘आयोगलाई प्रभावित पारेको छैन’
राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले ले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको जीकिर गर्नुभएको छ । निर्वाचन आयोगले भूमिको निस्सा बाँड्नु आचारसंहिता विपरित हुन्छ की हुदैन भनि सोधेको स्पष्टीकरणबारे तिमिल्सिनाले बनिसकेका ४ वटा निस्सा बाँडिएको बताउनुभएको छ । “स्पष्टीकरण सोधेकोमा मलाई गुनासो छैन, आयोगलाई जवाफ पठाउँदै छु”, उहाँले भन्नुभयो, “बनिसकेको निस्सा नपाएको गुनासो आएपछि दिएका थियौँ, मतदाता प्रभावित गर्न गरिएकै थिएन ।”
उहाँले निस्सा वितरण कानुन बमोजिमनै गरेको दाबी गर्नुभयो । निस्साकै आधारमा लालपुर्जा पाउने भएकाले निस्सालाई कागजी खोस्टो भनेर राजनीतिक ईस्यु बनाइएकोमा दुःखेसो समेत पोख्नुभयो । वैशाख २३ गते तिमिल्सिनाले भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कासँगै भरतपुर–११ गणेस्थानमा निस्सा बाँड्नुभएको थियो । आयोगले खड्का र तिमिल्सिना दुवैलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागु हुने अवधिसम्म निस्सा वितरणको काम समेत रोक्न आयोगले आग्रह गरेको छ ।