जेठ १२, चितवन । विगत ६ महिनादेखि तरलता अभाव खेपिरहेको बैंकहरुले स्थानीय निकायको निर्वाचन संँगै ‘डिपोजिट’ (निक्षेप )बढ्ने अपेक्षा गरेपनि बजारमा तरलताको अभावमा सुधार नभएको बताएका छन । स्थानीय निर्वाचनमा विभिन्न माध्यमबाट रकमको फ्लो हुने अपेक्षा गरिएपनि निर्वाचन सकिएपछि पनि बैंकमा निक्षेप नबढ्दा उनीहरु अन्यौलमा परेका छन । निर्वाचनमा विभिन्न उमेद्वार तथा कार्यकर्ताले चुनाव खर्चको लागि गरेको रकम बैंकसम्म नआईपुग्दा उनीहरु तनावमा समेत परेका हुन् ।
कामना सेवा विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी निर्वाचन शुरु भएसंँगै बैंकमा निक्षेप बढ्ने आश गरेपनि हालसम्म पनि निक्षेपमा सुधार नआएको बताउंँछन । ‘चुनावी माओल बढेसंँगै निक्षेप बढ्ने अपेक्षा त गरेका थियौं , तर निर्वाचन सकिएपछि पनि निक्षेप बढ्ने कुनै संकेत देखिएकै छैन ।’ उनले भने । निर्वाचन शुरु हुनुअघि रकम झिक्ने बढेको र सो रकम पुनः बैंकमा फर्कने आश गरेपनि नआएको भण्डारीको भनाई छ । ‘चुनावमा त झन् वीथड्र बढ्यो, उनले भने, चुनावमा त देशभर खर्च भएकै छ । त्यो पैसा कहांँ गयो होला हामी अन्यौलमा छौं ।’
निर्वाचनमा आम नागरिक , कृषक , व्यवसायी चुनावी रौनकमा व्यस्त भएतापनि निर्वाचनको परिणाम आएसंँगै आफ्नै लयमा फर्कन थालेका छन । पेशा व्यवसाय गर्नेहरु नियमित काममा फर्कन थालेपछि बैंकहरुमा ग्राहकको केही चाप देखिएको छ । नीजि बैंकहरुभन्दा बढी सरकारी निकायमा बैंकहरुमा बढी ग्राहकहरुको भीड भएको देखिन्छ । कृषि विकास बैंक, हाकिमचोक भरतपुर शाखाका प्रबन्धक हरि अधिकारी चुनावमा जति निक्षेप हुने अपेक्षा गरिएपनि त्यस्तो कुनै कारोबारमा फेरबदल नभएको बताउंँछन । ‘हामीले पनि चुनाव आएसंँगै पैसाको फ्लो बढ्छ भन्ने सोचेकै हौं । तर त्यस्तो देखिएन ।’ उनले भने ।
चुनावअघि निक्षेप नबढेपनि परिणाम घोषित भएसंँगै निक्षेप गर्नेहरुको ट्रेण्ड भने बढेको उनले बताए । बैंकहरुमा तरलता अभावले समस्या र चुनौति दिएपनि वित्तिय सहकारी संस्थाहरुमा भने तरलता अभावको त्यति असर नपरेको स्वयं सहकारी सञ्चालकहरुले बताउंँदै आएका छन । तर निक्षेपको तुलनामा कर्जाको अत्यधिक माग भएका कारण वित्तिय सहकारीहरुलाई सन्तुलन मिल्याउन हम्मे हम्मे परेको छ । कारण बैंकहरुले सहजरुपमा कर्जा दिन नसकेपछि कतिपय व्यवसायीहरु वित्तिय सहकारीको भरपर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
तर वित्तिय सहकारीहरुले पनि चुनाव नजिकिएसंँगै बजारमा पैसाको बहाव बढ्ने आश गरेपनि त्यो निराशामा परिणत भएको छ । ‘चुनाव अघि त बरु ठिकै कलेक्सन थियो , चुनावमा त झन अधिकांशले व्यवसायनै बन्द गरे , झन असर पर्यो ।’ चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था,नारायणगढका सिईओ राजन पौडेलले भने । चुनावमा खर्च भएको रकम वित्तिय संस्थामा आउन केही समय लाग्ने र अबका केही दिनमा निक्षेप र कर्जा संकलन समेत बढ्ने संकेत देखिएको पौडेलको भनाई छ ।
निर्वाचन सकिएपछि पनि निर्वाचनमा खर्च गरिएको रकम बैंकसम्म आउन ढिला हुने बताउंँछन बैंकिङ्ग विज्ञहरु । सानो सानो रकम धेरै ठाउंँमा छरिएर जाने भएकोले फेरी संकलन हुन समय लाग्ने उनीहरुको भनाई छ । कर्पोरेट फाइनान्समा विद्यावारिधि गरेका डाक्टर कपिलदेव सुवेदी बैंकमा तरलता अभाव कम गर्न चुनाव खर्चले खासै मदत नगर्ने बताउंँछन । ‘तरलता कम गर्न चुनावी खर्चले भन्दा सरकारले पूंँजीगत खर्च गर्नु पर्नेनै हुन्छ । डाक्टर सुवेदीले भने । निर्वाचनमा दृश्य अदृश्य रुपमा खर्च भएपनि सानो सानो रकम जम्मा भएर बैंकसम्म आउन ढिला हुने भएकोले केही दिनपछि मात्र यसको प्रभाव देखिने उनको भनाई छ ।
अहिले तरलता अभाव भएपनि असारे विकास संँगै बजारमा पैसाको कारोबार बढ्दै जाने उनले बताए ।