चितवन । नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले आगामी प्रदेश र संघको निर्वाचनमा दुई तिहाई स्थान ल्याउने गरी काम गर्न चितवनका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । स्थानीय निर्वाचनको परिणामले जनताले काङ्ग्रेसलाई फेरि एक चोटि हेर्न चाहेको भन्दै सोही अनुसार बढ्न आग्रह गर्नुभएको हो ।
नेपाली कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै उप सभापति खड्काले पार्टीको आन्तरिक कुरा जथाभावी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उप सभापति खड्काले हाम्रा कमजोरीहरुलाइ हांँसी हाँसी स्वीकार गर्ने बेला आएको समेत बताउनु भयो । ‘स्थानीय तहको परिणामले जनताले काङ्ग्रेस नै चाहेको छ, खड्काले भन्नुभयो, बिगतका अपठयाराहरुमा जस्तै अहिले पनि जनतालाई काङ्ग्रेस नै चाहिएको छ । ’
काङ्ग्रेसमा सुधारको जरुरत नभएको तर जनता सँग गर्ने व्यवहारमा सुधार ल्याउनु पर्ने समय आएको उहांँको भनाई थियो । उहाँले संविधान र जनताको हक अधिकारको रक्षा गर्न काङ्ग्रेसको ठुलो भुमिका रहेको भन्दै सिहदरबार देखि वडा तह सम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले काङ्ग्रेस नै चाहेको बताउनु भयो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
निर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कापी उपहार दिइएको थियो । कांग्रेसबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरि २ सय ३ जना निर्वाचित भएका छन ।