चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालु आर्थिक बर्ष ०७८,०७९ मा ६४ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार चालु आबको ०७८,०७९को साउन देखि बैशाख सम्म कुल ६४ करोड ३५ लाख ४४ हजार ६२५ रुपैंया आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शिर्षकबाट आम्दानी गर्दै आएको छ ।
सबैभन्दा बढी राजश्व संकलन चैत्रमा
कार्यालयले सबै शिर्षक गरी चालु आबको साउन देखि बैशाख महिनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन चैत्र महिनामा गरेको छ भने कम बैशाखमा गरेको छ । जसअनुसार चैत्र महिनामा ८ करोड ७६ लाख ४४ हजार २२ रुपैंया राजश्व संकलन भएको थियो भने बैशाख महिनामा ३ करोड ५७ लाख ५१ हजार २६० रुपैंया राजश्व संकलन भएको छ ।
कार्यालयले साउन महिनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैंया,भदौ महिनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैयांँ , असोज महिनामा ६ करोड ३५ लाख ८७ हजार ९८४ रुपैंया , कार्तिक महिनामा ६ करोड ७६ लाख ९६ हजार ४९८ रुपैया संकलन गरेको छ ।
यसै गरी कार्यालयले मंसिर महिनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैंया, पुषमा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैंया, माघ महिनामा ५ करोड ९१ लाख १२ हजार ४७८ र फागुन महिनामा ६ करोड १८ लाख १८ हजार २१ रुपैंया राजश्व संकलन गरेको हो ।
कार्यालयका प्रमुख विनोद पौडेलले जुनसुकै महिनामा सवारी दर्ता गरेपनि त्यसको जरीवाना नलाग्ने र नवीकरण गर्ने अन्तिम म्याद चैत्र मसान्त सम्म भएकोले चैत्र महिनामा अन्य महिना भन्दा बढी राजश्व संकलन हुने बताए । ‘बार्षिक सवारी कर तिर्ने अन्तिम म्याद चैत्र मसान्त हो , त्यसले गर्दा चैत्रमा बढी हुन्छ , उनले भने, बैशाख महिनामा तिर्नुपर्ने सेवाग्राहीले पनि अग्रिम चैत्र महिनामानै तिर्ने हुनाले बैशाखमा राजश्व संकलन कम देखिएको हो ।’ यो चालु आवमा कार्यालय नियमित खुलेको कारणले १० महिनामानै लक्ष्य भेटउन लागेको पौडेलको भनाई छ । ‘अघिल्ला बर्षहरुमा कोभिडले गर्दा कार्यालय नियमित खुल्न पाएन , अहिले अघिल्लाबर्षमा नवीकरण गर्नुपर्ने सेवाग्राही पनि थपिएका छन । सेवा विस्तार पनि भएको छ । सवारीसाधनको संख्या पनि हरेक बर्ष बढेको छ ।’ उनले भने । कार्यालयले यो आवको असार मसान्त सम्म ६५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो तर दुई महिना अघि बैशाख महिनामै लक्ष्य बराबरको राजश्व संकलन गर्न सकेको हो ।
नयांँ आर्थिक बर्षबाट नयांँ सवारी लाईसेन्स वितरण गरिने
कार्यालयले नयांँ चालक अनुमतिपत्र नयांँ आर्थिक बर्ष ०७९,८०को श्रावण महिनाबाट शुरु गरिने जनाएको छ । कार्यालयका प्रमुख पौडेलले यसको लागि प्रक्रिया शुरु भईसकेको र नीजि ट्रायल सेन्टरको बीड प्रक्रिया अघि बढेको जानकारी दिए । ‘अहिले ट्रायल सेन्टरको लागि बीड आव्हान प्रक्रिया गरेर अघि बढेका छौं उनले भने , संभवत आउंँदो श्रावणबाट नयांँ सवारी चालक अनुमति यहींबाट प्राप्त हुन्छ ।’ हाल ६ वटा ट्रायल सेन्टरले बीड आवेदन दिएका छन । मन्त्रालयको मापदण्ड पुगेका ट्रायल सेन्टर मध्ये जुन ट्रायल सेन्टरले न्यून बीडमा आवेदन दिएका छन सोही सेन्टर छनौटमा पर्ने पौडेलले बताए ।