काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर ५० प्रतिशत घटाउन संसदिय समितिले निर्देशन दिएको छ ।
शुक्रवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लिँदै आएको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि सामान्य नहुन्जेल सरकारले आयल निगमबाट विभिन्न शीर्षकमा लिँदै आएका करहरू ५० प्रतिशतले घटाउन निर्देशन दिएको समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट सम्पूर्ण वस्तु तथा सेवा महँगीएर स्थिति असमान्य बनेको भन्दै यसलाई न्युनिकरण गरी राहत उपलब्ध गराउन पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटाउन समितिले निर्देशन दिएको हो ।
समितिले आयल निगम र सरोकारवालाहरूसँग छलफल गरेर अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र आयल निगमलाई यस्तो निर्देशन दिएको हो ।
विद्यमान अन्तरराष्ट्रिय परिवेशबाट सिर्जित पेट्रोलियम पदार्थको मूल्य वृद्धि सामान्य नभएसम्मका लागि पेट्रोलियम पदार्थहरु विक्रीमा सरकारले विभिन्न शिर्षकमा उठाउँदै आएको कर ५० प्रतिशत घटाउन भनिएको समितिका संयोजक प्रकाश रसाइलीले बताए।
कर घटाउने सम्बन्धमा आयल निगम र सरकार पनि सकारात्मक रहेको छ। आयल निगमदेखि सरकार सबैको सहमतिपछि नै यो निर्देशन दिएको हो । पेट्रोल डिजेलमा प्रतिलिटर ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्न सक्ने छ । त्यसो हुँदा पेट्रोल लिटरको १६५ देखि १७० रुपैयाँ र डिजेल लिटरको १६० देखि १६५ रुपैयाँसम्ममा आउने छ ।
निगमले अहिले थोक खरीद मूल्य सार्वजनिक नगरेपनि अहिलेको मूल्यमा पेट्रोलमा करिब ६५ रुपैयाँ र डिलेजमा ५० रुपैयाँ हाराहारी कर सरकारले उठाउँदै आएको छ ।