अबुजा । नाइजेरियामा दईवटा फरक–फरक मुद्दामा छजना व्यक्तिलाई मृत्युदण्ड सनुाइएको छ ।
मुस्लिम बाहुल्य बाउची राज्यमा एउटा उच्च इस्लामिक सरिया अदालतले तीनजना पुरुषलाई ढुंगाले हानेर मार्ने आदेश दिएको छ ।
उनीहरूलाई बालबालिकासँग अवैध समलिंगी सम्पर्क राखेको अभियोगमा दोषी ठहर गरिएको हो । अदालतका एकजना अधिकारीले समलिंगी कार्यमा संलग्न दोषीमध्ये दुईजना युवक तथा एकजना करिब सत्तरी वर्षीय वृद्ध रहेका बताएका छन् । उनीहरूसँग अदालतको यस फैसलाविरुद्ध एक महिना भित्र अपिल गर्ने अधिकार छ ।
सरिया लगायत धर्मनिरपेक्ष कानुनसमेत रहेका उत्तरी नाइजेरियाका एक दर्जन राज्यमध्ये बाउची पनि एक हो ।
नजिकैको प्ल्याट्यु राज्यको धर्मनिरपेक्ष अदालतले बिहीबार अर्को मुद्दाको फैसला गर्दै तीन जना पुरुषलाई झुण्ड्याएर वा विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिन आदेश दिएको छ ।
उनीहरूलाई सन् २०१५ मा क्रिसमस मनाइरहेका मानिसहरूबीच विवाद हुँदा एकजना कलिलो उमेरका युवकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको थियो । उनीहरूका वकिलले भने मृत्युदण्डविरुद्ध अपिल गर्ने बताएका छन् ।
नाइजेरियामा विरलै मात्र मृत्युदण्ड कार्यान्वयन हुने गरेको छ । मृत्युदण्ड पाएका अधिकांशको सजाय आजीवन कारावासमा परिणत हुने गरेको छ । नाइजेरियामा मृत्युदण्ड दिइनु पूर्व सम्बन्धित राज्यका गभर्नरको अनुमोदन लिनु आवश्यक छ ।