चितवनः भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका जेष्ठ पत्रकारलाई मासिक भत्ता दिन शुरु गरिएको छ । महानगरले उपलब्ध गराएको र२० लाखको अक्षयकोषबाट भत्ता दिन शुरु गरिएको हो ।
सो कोषमा नेपाल पत्रकार महासंघ चितवन शाखाले र१ लाख रुपैंया थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासंघका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
महासंघले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु।४ हजारका दरले हुन आउने रु।१२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासंघले जनाएको छ ।
महासंघ र महानगरपालिका मिलेर भरतपुर महानगर जेष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधि अनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण शुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ ।
लाभग्राही पत्रकार थपिएसँगै स्वत महानगर र महासंघले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाईएको छ । कोष संचालनका लागि महासंघका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।
रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासंघसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उमेर घटाउने र कोषलाई बृद्धि गर्दै लग्ने बिषयमा महानगरले छलफल गर्ने उहाँको भनाई छ । उहाँले नेपालमानै पहिलो पटक पत्रकारिता क्षेत्रमा नमुना कार्य गरिएको बताउनुभयो ।
महासंघले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उहाँले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यससँगै लेखनबृत्ति, क्षमताअभिबृद्धि लगायतका कार्यमा महानगरले सहकार्य गर्ने उहाँको भनाई छ । प्रमुख भए संगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रबर्धन हुने गरी बिभिन्न कार्यक्रम अघि वढाएको उहाँले बताउनुभयो । यस कार्यकालमा पनि महासंघका प्रस्ताबहरुलाई सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो ।
सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासंघसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताउनुभयो । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुद हुने उहाँको भनाई छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासंघसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब सृजना अर्यालले देशमानै नमुना काम यहाँको महासंघ र महानगरले गरेको भन्दै प्रसंशा गर्नुभयो ।
महासंघका अध्यक्ष अधिकारीले संस्थागत रुपमा महासंघबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनाहरुमा सहकार्य गरिदिन आग्रह गर्नुभयो । सोही अबसरमा ६० वर्ष कटेका जेष्ठ पत्रकारहरु रेशम बिरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निबृत्तिभरण रकम बापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निबृत्तिभरण रकम बुझे संगै बिरहीले पत्रकारहरुको योगदान हाल सम्म राज्यले गर्न नसकेको बताउनुभयो । यो कार्यको थालनी महत्वपूर्ण भएको उहाँको भनाई थियो ।
भत्ता वितरण कार्यविधि अनुसार महिला, दलित, अपाङ्ग र अल्पसंख्याकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउन योग्य उमेर भएपछि यो कोषबाट भत्ता पाईने छैन । यससँगै नेपाल सरकारका कुनैपनि निकायका नियमित सुविधा लिनेहरुलाई कोषमा समावेश गरिने छैन ।