चितवन – अहिलेका चर्चित अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ’प्रकाश’ नेपाली माटोको कथा बोकेको कमर्सियल फिल्म मा देखा पर्ने भएका छन । यसअघि उनी लभ, ट्रेजडी, रोमान्स कथामा अभिनय गर्दै आएपनि प्रकाश चलचित्रमा भने फरक भूमिकामा अभिनय गर्ने भएका हुन् ।
यो चलचित्र कमर्सियल फिल्म भएको निर्माणपक्षको दाबी छ ।
आज (शुक्रबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र लेखक बिकास सुवेदी र अभिनेता खड्काले ’प्रकाश’ कमर्सियल फिल्म भएको दाबी गरेका हुन् । उनले जुम्ला जस्तो बिकट ठाउँको कथा उठाएको भन्दैमा फिल्मलाई ’नन कमर्सियल’ भन्न नमिल्ने बताए ।
लेखक सुवेदीले ’प्रकाश’ सबै नेपालीको साझा कथा भएको बताए । फिल्ममा जुम्लाका एक विपन्न युवाले सरकारी शिक्षकको जागिर खान गर्नुपरेको संघर्षलाई देखाईए पनि यो कथा सबै नेपाली युवाहरुको जीवनसँग मेल खाने उनको भनाई छ । ’प्रकाश सबै नेपालीको साझा कथा हो । नेपालमा बसेर केही गर्छु, सरकारी जागिर खान्छु भन्ने युवाहरुको कथा हो’, उनले भने ।
जुम्ला जस्तो नेपालको पिछडिएको क्षेत्रको युवाले सरकारी जागिर खाने सपना देख्दा कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भने कथा फिल्ममा उठाईएको उनको भनाइ छ । सुगम क्षेत्रको तुलनामा जुम्ला जस्तो दुर्गम क्षेत्र संघर्ष गर्नु कति कष्टपूर्ण हुन्छ भन्ने बिषयलाई फिल्मको माध्यमबाट देखाउन खोजिएको उनले बताए । जुम्ला जाँदा देखिएको कष्टकर जीवनलाई फिल्मको माध्यमबाट बाहिर ल्याउनुपर्छ भन्ने सोचका साथ ’प्रकाश’ लेखिएको लेखक सुवेदीको तर्क छ ।
उनले फिल्ममा प्रदीपले आफ्नो ’कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर काम गरेको बताए । ’कम्फर्ट जोन’ बाहिर निस्किएर पनि प्रदीपले फिल्ममा राम्रो काम गरेको उनको भनाइ थियो । उनले नेपाली माटोको कथा रुचाउनेले फिल्मलाई पनि रुचाउने विश्वास व्यक्त गरे ।
अभिनेता प्रदीपले पनि फिल्ममा आफ्नो कम्फर्ट जोन भन्दा बाहिर निस्किएर फरक भूमिका निर्वाह गरेको बताए । उनले ’प्रकाश’ बाट आफुले राम्रो कलाकार बन्ने प्रयास गरेको बताए । यस अघिका फिल्ममा नायकको रुपमा अभिनय गरेको भन्दै उनले ’प्रकाश’ मा रियल कलाकार बन्ने प्रयास गरेको बताए ।
फिल्मको वान लाइन सुनेर नै आफु काम गर्न तयार भएको बताए । ’फिल्मको कथा के हो ? पात्र के हो ? केही थाहा थिएन । एउटा विद्रोह भयो, द्धन्द भयो । त्यसले एउटा व्यवस्था लिएर आयो । त्यसमा यस्ता कमि कमजोरी छन् जसले अर्को विद्रोह निम्त्याउन सक्छ भन्ने लाइनले म काम गर्न तयार भए । मैले गरेको कामले भविष्यमा निम्तिन सक्ने समस्या देखाउन सक्छ भने यो जस्तो गतिलो चिज केही दिन सक्छु जस्तो लागेन । त्यसैले मैले गरे । त्यो समस्या के हो फिल्म हेरेपछि थाहा पाईन्छ’, प्रदीपले भने ।
उनले ’प्रकाश’ आफ्नो लागि निकै चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरको रुपमा लिएर राम्रो काम गर्ने प्रयास गरेको बताए । फिल्मका लेखक, निर्माता र निर्देशकले ’प्रकाश’ को पात्रमा काम गर्न हौसला दिएको उनले बताए । उनले आफ्नो यस अघि प्रदर्शन भएका ६ वटा फिल्म भन्दा ’प्रकाश’ व्यवसायिक रुपमा पनि सफल हुने विश्वास व्यक्त गरे ।
उनले ’प्रकाश’ आफ्नो लागि निकै चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरको रुपमा लिएर राम्रो काम गर्ने प्रयास गरेको बताए । फिल्मका लेखक, निर्माता र निर्देशकले ’प्रकाश’ को पात्रमा काम गर्न हौसला दिएको उनले बताए । उनले आफ्नो यस अघि प्रदर्शन भएका ६ वटा फिल्म भन्दा ’प्रकाश’ व्यवसायिक रुपमा पनि सफल हुने विश्वास व्यक्त गरे ।
भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको ’प्रकाश’ लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक दिनेश राउत हुन् । फिल्ममा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडालगायतको पनि अभिनय छ ।
फिल्ममा दुई करोड भन्दा बढी लगानी गरिएको निर्माण पक्षको दाबी छ । जुम्लामा खिचिएको फिल्मको टिजर र दुई वटा गीत सार्वजनिक भइसकेको छ । जसले दर्शकबाट राम्रो प्रतिकृया पाइरहेको छ ।