सूर्यप्रसाद अधिकारी, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आर्थिक बर्ष ०७८,०७९ मा सांँढे ७३ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार गत आर्थिक बर्ष साउन देखि असार मसान्तसम्म ७३ करोड ५४ लाख ३७ हजार ८१३ रुपैंया राजश्व संकलन गरेको हो । कार्यालयले गत आवमा ६५ करोड हाराहारीमा राजश्व संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्यभन्दा सांँढे ८ करोड रुपैंया बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना, सवारी साधन कर, सवारी दस्तुर, आयकर शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ ।
यी शिर्षक मध्ये सबै भन्दा बढी सवारी साधन कर बाट ५७ करोड ८४ लाख ५६ हजार ८३ रुपैंया संकलन गरेको छ भने कम प्रशासनिक दण्ड जरीवानाबाट ५७ लाख १९ हजार ८८६ रुपैंया संकलन गरेको छ । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७८ लाख १८ हजार ५१६ रुपैंया, सवारी दस्तुर शिर्षकबाट ६ करोड ६७ लाख ३५ हजार १४३ रुपैंया , र आयकर शिर्षकबाट २ करोड ६७ लाख ८ हजार १८४ रुपैंया संकलन गरेको जानकारी दिएको छ ।
कार्यालयका प्रमुख विनोद पौडेलले गतबर्ष अनुमानित लक्ष्य भन्दा बढी कार्यालयले राजश्व संकलन गरेको बताए । ‘गतबर्ष ६५ करोड हाराहारीमा राजश्व संकलन गर्ने लक्ष्य थियो तर लक्ष्य भन्दा बढीनै राजश्व संकलन गर्न सफल भयौं ।’ प्रमुख पौडेलले भन्नुभयो । कार्यालयले हाल नयांँ सवारी अनुमति पत्र बाहेक सबै काम यही कार्यालयबाट गर्दै आएको छ । उहांँका अनुसार बर्षेनी सवारीसाधनको संख्या बढ्नुको साथै सेवा र करमा पनि केही प्रतिशत बृद्धि भएकोले लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । ‘ प्रविधिमैत्री सेवा, सवारीसाधनको बृद्धि, जरीवाना र सेवा विस्तारले अपेक्षित भन्दा बढी राजश्व संकलन भएको हुनुपर्छ ।’ उहांँले भन्नुभयो ।