चितवन । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी भव्य रुपले मनाउंँदै छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) चितवन शाखाले कार्यक्रम भव्य रुपमा गर्न लागेको हो ।
संघले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका सचिव गौरव गोविन्दप्रसाद दासले भजन, कीर्तन, प्रवचन, अभिषेक, मन्त्र ध्यान, कृष्ण झुला, सांस्कृतिक लगायतका कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार भदौ ३ गते दिउँसो ३ बजेदेखि राती १२ बजेसम्म कार्यक्रम हुनेछ । भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको संस्थाको कार्यालयमा कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रममा १० हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको उहाँको भनाई छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न संघ संस्था, राजनीतिक दल, नेता र व्यक्तिहरुसँग नियमित समन्वय भईरहेको उहाँले बताउनुभयो । सचिव दासले भन्नुभयो “श्रीकृष्णबारे बुझाउने र श्रीकृष्ण जन्माष्टमी किन मनाउने, यसको व्यवहारिक र सांस्कृति पक्ष के हो ? भन्ने बारे कार्यक्रममा स्पष्ट पारिने छ ।”
संस्थाले जीवनका लागि भोजन भन्ने अभियान अन्तर्गत भोकालाई खाना, अनाथलाई पढाउने कार्य गर्दै आएको छ । यस्तै समय र तानाव व्यवस्थापन, भगवत गीता निःशुल्क वितरण लगायतका कार्य संस्थाले गर्दै आएको छ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपालका ४० स्थानमा केन्द्र स्थापना गरी सेवा गर्दै आईरहेको छ ।
संस्थाले शुभचिन्तक र दाताहरुको स्वेच्छिक दानबाट खर्च व्यवस्थापन गर्दै आएको जनाएको छ । संस्थाका उपाध्यक्ष ममता न्यौपानेले घर, विद्यालय र समाजले संस्कार नपढाएको बताउँदै संस्थाले संस्कार सिकाउँदै आएको बताउनुभयो । जीवनलाई सुखी र खुशी बनाउन पनि जीवनको सबै डर हटाउनु पर्ने बताउँदै उपाध्यक्ष न्यौपानेले प्रत्येकले भागवत गीता अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “विज्ञान धर्मको एक टुक्रा हो, शास्त्रमा सबै कुरा छ ।”