चितवन । मन्टेश्वरी प्रि स्कुलको छाता संगठन एम्स (एशोसियन अफ मन्टेश्वरी प्रिस्कुल)ले नेपालीहरुको महान चाड तिजको अवसर पारेर तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । तिजको मौलिक परम्पराको जगेर्ना र स्कुलवीचको भावनात्मक सम्बन्ध प्रगाढ होस भन्ने हेतुले आज भरतपुरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिमा वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलन बाबु श्रेष्ठ बिशिष्ट अतिथिमा वाग्मती प्रदेश सांसद रिना गुरुङ्ग, कृषि तथा वन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष डाक्टर कल्याणी मिश्र, वडा नम्बर ७ का अध्यक्ष यमलाल कंडेल लगायत उद्योग वाणिज्य संघ, चितवनका सदस्य रजनी मास्के लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले मौलिकता हराएको तिज संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । संस्कृति जोगाउन जिम्मा आम नेपाली दिदी बहिनीहरुमा रहेको भन्दै तिजलाई मर्यादित , अनुशासित रुपमा मनाउन आग्रह गरे । यस संस्थाले चितवनमा रहेका मन्टेश्वरीलाई एकैठाउंँमा राखी आफ्ना समस्याहरु साटासाट गर्न मदत पुग्ने बताए । मन्टेश्वरी स्कुलहरुलाई थप व्यवसायिक र व्यस्थित गर्न आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
बिशिष्ट अतिथि रिना गुरुङ्गले शिक्षाको विकासको लागि मन्टेश्वरी स्कुलको भूमिका महत्वपुरर्ण रहने बताईन । बालबालिकालाई भोलिका शिक्षाको आधार निर्माण र गर्न सुनौलो भविष्य कोर्न मन्टेश्वरीले मदत गर्ने बताईन । यसलाई नाफामुखी नबनाई सेवामुखी बनाउनु पर्ने उनले जोड दिईन ।
सो अवसरमा बोल्दै मिश्रले अधिकांश मन्टेश्वरी स्कुलमा महिलाहरुको प्रतिनिधित्व भएको भन्दै यस क्षेत्रले रोजगारी सिर्जनामा टेवा पुगेको बताईन । आजको आधुनिक समयमा मन्टेश्वरीलाई थप व्यवसायिक र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिईन । वडा अध्यक्ष कंडेलले विभिन्न संघसंस्थाका महिलाबीच हुने यस तिज बिशेष कार्यक्रमले भातृत्वको विकास हुने बताए । पछिल्लो समय तिज भड्किलो र खर्चिलो बन्दै गईरहेको बताउंँदै उनले मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति एवं एम्सकी अध्यक्ष देवी आचार्यले सरकारले अन्य स साना क्षेत्रलाई समेत सम्बोधन गरेको तर मन्टेश्वरी क्षेत्रलाई वेवास्ता गरेको बताईन । शिक्षाको गुणस्तर बृद्धिका साथै महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने यो क्षेत्रलाई प्रर्वद्धन र सहयोग गर्नु सरकारको दायित्व रहेको बताइन । यस्ता कार्यक्रमले संस्थालाई थप बलियो र एकजुट रहन समेत मदत पुग्ने बताईन ।
सो अवसरमा गायिका सरिता गुरुङ्गले तिज गीत प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि , वित्तिय संस्था, स्टेशनरी सप्लायर्स , सामाजिक व्यत्तित्व लगायतको सहभागिता रहेको थियो । कार्यक्रम एम्सका सहसचिव प्रमिला रानाभाटले सञ्चालन गरेकी हुन् ।