चितवन, २८ पुसः चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा माघ २ गतेदेखि ४ गतेसम्म आठौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो–२०८२ आयोजना हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत देशका कृषि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने आयोजकले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
आयोजक संस्था मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका किसान, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यवसायीहरूको उल्लेखनीय चासो रहेकोे बताउनुभयो ।
भट्टराईका अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहनेछन् । आधुनिक कृषि प्रविधि तथा उत्पादनमा किसानलाई जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा कुखुरापालन, बाख्रापालन, मत्स्यपालन, गाईभैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषि यन्त्र, पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक मल, बीउबिजन, कृषि तालिम, वित्तीय समाधान, डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने मेसिनरीहरूको प्रत्यक्ष प्रदर्शन तथा डेमो तथा परामर्श सेवा उपलब्ध हुनेछन् ।
प्रदर्शनी मार्फत कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, व्यवसायिक सहकार्य तथा कृषिमा नवीनतम प्रविधिको जानकारी आदानप्रदान हुने उहाँले बताउनुभयो । यस प्रदर्शनीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । व्यवसायी, कृषि एग्रो उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि ज्ञान आर्जनको महत्वपूर्ण अवसर हुने सो अवसरमा जानकारी दिइयो ।
प्रदर्शनीको प्रवद्र्धकका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्ड, कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन प्रालि. र फ्युचरएक्स ट्रेड फेयर इभेन्ट्स प्रालिले उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।











