भरतपुर । अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि आरम्भ कलेज पुनः चितवन प्रथम एवं चितवन द्वितीय हुँदै उत्कृष्ट नतिजा प्रदर्शन गर्न सफल भएको छ ।
शैक्षिक हबको रुपमा विकासित हुँदै गरेको चितवन जिल्लाको भरतपुरमा रहेको आरम्भ कलेजले स्थापनाको छोटो समयमा नै उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल कलेज साबित गरिरहेको छ ।
आरम्भ कलेजको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) र बिआइटिएम (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट) तर्फ सेकेन्ड सेमेस्टर (ब्याच २०२४) का तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
आरम्भ कलेजले बिआइटिएमतर्फ चितवन जिल्ला प्रथम र जिल्ला द्वितीय तथा बिएचएमतर्फ जिल्ला द्वितीय स्थान हासिल गरेको छ । बिआइटिएमकी छात्रा सेजल खड्गी ३.८४ एसजिपिए ल्याई चितवन टपर हुन सफल भएकी छन् भने छात्र सौरभ पौडेल ३.७६ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । यसैगरी, बिएचएमका छात्र सबिन श्रेष्ठ ३.८३ एसजिपिए ल्याएर चितवन सेकेन्ड टपर भएका छन् । कलेजका प्राचार्य सुरज शिवाकोटीले आरम्भ कलेज यसअघि त्रिविको बिएचएमतर्फ नेपाल पाँचौँ, नेपाल चौथो हुँदै नेपाल तेस्रो बन्न सफल भएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी म्यानेजमेन्ट (बिआइटिएम) र ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई संचालन गरेको छ । गत वर्ष बिएचएमको पहिलो सेमेस्टरकोे परीक्षामा सबिन श्रेष्ठ ३.९८ एसजिपिएसहित चितवन जिल्ला प्रथम र त्रिवि तेस्रो भएका थिए । बिआइटिएमकी छात्रा सेजल खड्की अघिल्लो वर्ष पनि ३.८४ एसजिपिएसहित जिल्ला प्रथम भएकी थिइन् ।
कलेज स्थापनाको वर्ष पहिलो सेमेस्टरको परीक्षामा बिएचएमकी छात्रा ङवाङ बम्जन तामाङ ३.९२ एसजिपिए ल्याएर नेपाल पाँचौँ र चितवन प्रथम भएकी थिइन् । दोस्रो सेमेस्टरको परीक्षामा पनि उनले ३.९४ ल्याई नेपाल चौथो र चितवन दोस्रो भएकी थिइन् ।











