चितवन,फागुन । रत्ननगर–४ स्थित बुद्ध ज्योति इङ्लिस स्कुलको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।
बिहीबार विद्यालयको आफ्नै प्रांगणमा सञ्चालन गरिएको उक्त शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी विभिन्न समस्याहरूको विशेषज्ञद्वारा निःशुल्क जाँच गरिएको थियो। स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरमा उल्लेख्य सहभागिता रहेको थियो।
विद्यालयका प्राचार्य बैकुण्ठ मरहठ्ठाका अनुसार, यस प्रकारका कार्यक्रमले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
उक्त शिविर एन्जल फाउन्डेसन, उर्लाबारी (मोरङ) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। शिविरमा १२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो, जसमा MBBS चिकित्सक डा. मनिष कुमार यादव, सिनियर काउन्सिलर अस्मिता शर्मा, फार्मेसीयन अशोक ताजपुरिया, ल्याब असिस्टेन्ट पूजा राजवंशी, सिनियर ल्याब असिस्टेन्ट अनुपा राई, बजार व्यवस्थापक कृष्ण बडु तथा सुदिक्षा निरौला र नर्सिङकर्मी सीमा चौधरी लगायतको उपस्थिति थियो।
शिविरमा ल्याब परीक्षण अन्तर्गत एचआईभी, हेपाटाइटिस, सिफिलिस तथा अन्य यौनरोगसम्बन्धी परीक्षण गरिएको थियो। साथै रगत परीक्षण, सुगर तथा रक्तचाप जाँच समेत गरिएको थियो। परीक्षणपछि सेवाग्राहीलाई तत्कालै रिपोर्ट प्रदान गरिएको थियो।
त्यसैगरी मलद्वारसम्बन्धी रोग, पाइल्स, फिसर र फिस्टुलाको जाँच गरी आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। आफ्नै स्थानमा विशेषज्ञसहितको गुणस्तरीय सेवा पाएको भन्दै सेवाग्राहीहरू उत्साहित देखिएका थिए।
वि.सं. २०७९ सालमा स्थापना भएको एन्जल फाउन्डेसनले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले साना किसान, सहकारी, बैंक तथा शैक्षिक संस्थासँग समन्वय गर्दै देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको शिविर प्रमुख प्रकाश राजवंशीले जानकारी दिए।
हाल उक्त संस्थाले चितवनको रत्ननगरमा शिविर सञ्चालन गरेको हो। पूर्वी चितवनमा मात्रै दुई हजारभन्दा बढी सेवाग्राहीलाई सफल उपचार सेवा प्रदान गरिसकेको र पछिल्लो समय सेवाग्राहीको रोजाइमा पर्न थालेको डा. अस्मिता ओलीले बताइन्।











