सूर्यप्रसाद अधिकारी, चितवन । चालु आर्थिक बर्ष ०७९, ८० को बैशाख महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको कर असुली लक्ष्यभन्दा २७ दशमलब ६० प्रतिशत कमले असुली भएको छ । कार्यालयका अनुसार बैशाख महिनामा विभागले कार्यालयलाई २ अर्ब ६५ करोड ६८ लाख १८हजार लक्ष्य दिएकोमा १ अर्ब ९२ करोड ३५ लाख ५ हजार रुपैंया राजश्व असुली भएको हो ।
कार्यालयले आयकर, बहालकर,ब्याजकर, मुल्यअभिबृद्धि कर,अन्तशुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्क बाट कर असुली गर्दै आएको छ ।
सबैभन्दा बढी कर असुली अन्तःशुल्कबाट
बैशाख महिनामा कार्यालयले यी सबै शिर्षकमध्ये सबैभन्दा बढी अन्तशुल्क शिर्षकबाट कर असुली गरेको छ । जसअनुसार यो शिर्षकबाट १ अर्ब ५७ करोड ९३ लाख रुपैंया राजश्व संकलन भएको छ विभागले यो शिर्षकको लागि बैशाख महिनामा २ अर्ब २५ करोड ९८ लाख ५० हजारको लक्ष्य दिएको थियो । यस्तै आयकर शिर्षकमा १५ करोड १० लाख १४ हजार लक्ष्य दिएकोमा १७ करोड ७२ लाख ६४ हजार रुपैंया, बहालकर शिर्षकमा ४२ लाख १ हजार लक्ष्य दिएकोमा २७ लाख १ हजार असुली, र व्याजकरमा २ करोड ३३ लाख १३ हजार लक्ष्य दिएकोमा १ करोड १३ लाख ९० हजार असुली गरेको छ । यस्तै मुल्यअभिबृद्धि कर शिर्षकमा २१ करोड ६४ लाख ५७ हजार लक्ष्य दिएकोमा १५ करोड ८ लाख ४१ हजार रुपैंया राजश्व असुली , स्वास्थ्य सेवा करमा १९ लाख ८३ हजार लक्ष्य दिएकोमा १९ लाख ६८ हजार रुपैंया र शिक्षा सेवा करमा बैशाख महिनामा कुनैपनि कर असुली भएको छैन र यो शिर्षकमा विभागले कुनै लक्ष्य पनि दिएको छैन ।
कार्यालयका सूचना अधिकारी विष्णु बहादुर रावतले देशमा सबै क्षेत्रमा आर्थिक मन्दी भएकोले लक्ष्य अनुसार कर संकलन गर्न नसकिएको जानकारी दिनुभयो । ‘यो कार्यालय अधिकांश रुपमा अन्तशुल्क निर्भर छ , उहांँले भन्नुभयो , अहिले मदिराजन्य बस्तुको निकासी पनि कम हुन्छ, माग पनि कम छ ।’ विभागले दिएको लक्ष्य अनुसार कर असुली गर्न नसकिएपनि कार्यालयले आयव्यय विवरण नबुझाउने कम्पनीहरुमा निगरानी र निरन्तर सम्पर्क गरिरहेको उहांँले बताउनु भयो । लक्ष्य अनुसार कर असुली हुन घरजग्गा कारोबार, पर्यटन, गाडीहरु लगायतको कारोबारमा बृद्धि हुनुपर्ने उहांँको भनाई छ ।
चालु आवको लागि विभागले कार्यालयलाई २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैंया कर असुलीको लक्ष्य दिएको छ । हालसम्म कार्यालयले १५ अर्ब ६५ करोड ६८ लाख २ हजार रुपैंया संकलन गरेको छ ।