काठमाडौँ।नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले बाढी ग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथाङ पहिरोको अवलोकन गर्नुभएको छ ।
थापाले बुधवार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गर्नुभएको थियो । मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितको समस्या समाधानका लागि आफूले पहल लिने आश्वासन दिनुभयो । उहाँले तत्काल नदी तटबन्ध गर्ने,पुल निमार्ण गर्ने, टुटेका सडक सञ्जाल निमार्णको लागि आफूले पहल गर्ने बताउनुभयो ।
उहाँले भ्रेमाथाङको पहिरोको अध्ययन भइरहेको बताउँदै केहिदिनमै त्यसको यथेष्ट विवरण आउने समेत जानकारी दिनुभयो । अघिल्लो सरकारले घोषणा गरेको तत्कालको लागि ५० हजार र घर बनाउनका लागि दिइने ५ लाख पीडितले कहिले पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पुर्वमन्त्री समेत रहेका थापाले त्यो छिट्टै नै कार्यान्वयन भएर आउने दाबी गर्नुभयो ।