चितवन । भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा पुस ४ गतेबाट ह्याकाथन प्रतियोगिता हुने भएको छ ।
कलेजमा स्थापना भएको बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले सो सूचना प्रविधिसम्बन्धी बिआइसी ह्याकाथन प्रतिस्पर्धा गर्न लागेको हो । नयाँ सफ्टवेयरको विकास गर्ने उदेश्य सहित यो प्रतियोगिता कलेजको तेस्रो श्रृंखला हो ।
देशभरका कक्षा ११, १२ र स्नातक तहमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुको समूहले सहभागिता जनाउन पाउने प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार रुपैयाँ, दोस्रोले २५ हजार रुपैयाँ, तेस्रो हुने समूहलाई १५ हजार रुपैयाँ, उत्कृष्ट तोलीलाई नगद पाँच हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।
बीआईसी ह्याकाथनको लागि समूह दर्ताको अन्तिम मिति मंसिर १९ गतेसम्म तोकिएको छ । दर्ताको लागि प्रति टिम ४हजार सय रुपैयाँ देखि ६हजार ५ सय रुपैयाँ तोकिएको छ । बोस्टन इन्टरनेशल कलेजपरिसरमा नै हुने ह्याकाथन ४८ घण्टासम्म निरन्तर चल्ने छ । यस प्रतियोगिताले सहभागी विद्यार्थीहरुको प्राविधिक र व्यवसायिक कौशलता संँगै नेतृत्व विकास गर्ने कलेजको दाबीे छ ।
कार्यक्रममा बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालका विभिन्न सूचना प्रविधि कम्पनीका विशेषज्ञहरुले प्रतियोगितामा निर्णायक भूमिका खेल्ने जानकारी दिए । उनले भने, ‘ प्रतियोगितामा निर्णायकहरु पूर्णरुपमा स्वतन्त्र हुन्छन् । यो प्रतियोगिता कुन कलेजले जित्छ वा जित्दैन भन्दा पनि सूचना प्रविधिको क्षेत्रको विकासमा सहयोगी हुने उद्देश्ले सञ्चालन गरिएको हो । ह्याकाथनमा विजेता विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो गरिरहेका छन् ।’ बोस्टन इन्टरनेशनल कलेजमा दिवा शत्रका कोअर्डिनेटर नविनकुमार श्रेष्ठले अघिल्लो प्रतियोगितामा विजेता बनेका विद्यार्थीले भारतीय कम्पनीमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको बताए ।
पत्रकार सम्मेलनमा कार्यक्रमका प्रबन्धक रेजिन भण्डारी, कार्यक्रमका सल्लाहकार नितेश कुमार सिंह, मनिष कँडेल, कार्यक्रम संयोजकहरु ध्रुव सापकोटा र विकास आचार्यले लगायतको ह्याकथनको बिषयमा प्रकाश पारेका थिए ।
यसअघिका दुइ श्रृंखलामा लुम्बिनी आईसीटी कलेज र पश्मिाञ्चल कलेज विजेता बनेको बताए । ह्याकाथनको पहिलो प्रतियोगितामा १० वटा समूह र दोस्रो प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको थियो । यसपटकको प्रतियोगिताले राष्ट्रियरुपमा नै सूचनाप्रविधिको क्षेत्रमा नयाँ आयाम थपिने कलेजको विश्वास छ । सो अवसरमा अतिरिक्त क्रियाकलाप विभागका संयोजक अप्रमेय खकुरेल, विश्वविद्यालय अनुदान आयोगअन्तर्गत बोस्टनको क्यूएए कार्यक्रम संयोजक मिनप्रसाद दवाडी, बोस्टन उद्यमशिलता कार्यक्रम प्रमुख प्रेम गैरे लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता पुष ६ गतेसम्म चल्नेछ ।