भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ ।
कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो ।
गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ ।
लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ । विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो ।
विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे । साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए । २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्यो । विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए । यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ ।
उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ । अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । यो खेल सोमबार दिउँसो ४:३० बजे कृष्णपुरमा हुनेछ ।
सोमबार नै अन्य दुई खेल पनि हुनेछ । समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन् । यो खेल दिउँसो ४:३० बजे अमर मावि पटिहानीमा हुनेछ । यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ ।
लिग जेष्ठ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ ।