चितवन। नेपाली कांग्रेसले लामो समयसम्म प्रजातान्त्रिक आन्दोलमा योगदान दिएका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको जेष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका जेष्ठ राजनीतिज्ञ सदस्यहरुलाई आज (आईतवार ) नेपाली कांग्रेस चितवनले आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीले चितवनका मनोनति सदस्यहरुलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाण पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीले सभापति देउवा आफैले सबैलाई राखेर सम्मान गर्ने सोँच बनाए पनि विभिन्न परिस्थितिका कारण हुने नसकेकाले आफूलाई सम्मान गर्न जिम्मेवारी सुम्पिनुभएको बताउनुभयो । उहाँले २०७७ साउन १४ गते नै प्रमाण पत्र वितरण गर्ने तय भए पनि विविध कारणले गर्दा ढिलाइ हुन पुगेको बताउनुभयो ।
सम्मान गरेको प्रमाण पत्रमा लेखिएको छ “ नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ठ सहेर अत्यन्त कठिन र प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न संलग्न भई तपाइले गर्नुभएको योगदान इतिहासमा चिरन्तरन रहिरहने छ “।
नेपाली कांग्रेसको झण्डामा गोलबद्ध भएर परिवर्तनका हरेक लोकतान्त्रिक आयाममा सक्रिय हुँदा धेरै अग्रज र साथीहरु सहिद हुनुभयो, धेरैले घरबार तथा श्रीसम्पति गुमाउनु भयो र धेरै विस्थापित समेत हुनुभयो, तथापी यहाँहरु जस्ता प्रतिवद्ध र समर्पित योद्धाको निरन्तर सहयात्राले नेपाली कांग्रेस पार्टी जीवन्त छ । नेपालको हरेक लोकतान्त्रि आन्दोलनमा नेपाली कांग्रेस राजनीतिक परिवर्तनको नेतृत्व गर्न सफल भएको छ । तपाईको यही निष्ठापूर्ण योगदानलाई कदर गर्दै नेपाली कांग्रेसको नियमावली २०७६को नियम ५० बमोजिम पार्टीका तर्फबाट जेष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरी श्रद्धा र उच्च सम्मानका साथ जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ ।’
कार्यक्रममा आफै उपस्थिति भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्य र उनीहरुका आफन्तलाई प्रमाण पत्र र दोसल्ला प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।