चितवन । स्तन क्यान्सरबाट पीडित बन्दीपुर–४ भैंसेखारकी ४१ वर्षीया कमलादेवी धमला जोशीको उपचारमा सहयोगी हात थपिएका छन् । बन्दीपुर सामाजिक विकास समिति तनहुँका आजिवन सदस्य छायाँ श्रेष्ठले आज अस्पतालमै पुगेर ७१ हजार ५ रुपैयाँ चेक हस्तान्तरण गर्नुभयो । संस्थाका अध्यक्ष यादव लाल श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष रेखा श्रेष्ठ, तथा बन्दीपुर महिला उपसमितिको बिशेष पहलमा तथा आजीवन सदस्य छाँया श्रेष्ठको समन्वयमा उक्त रकमको चेक अस्पतालमै पुगेर हस्तान्तरण गरिएको हो । उपचारमा आर्थिक समस्या झेलिरहेकी जोशीको थप उपचारका लागि संस्थाले विपि कोइराला क्यान्सर अस्पताल, भरतपुरसँग समन्वय समेत गरिदिएको छ ।
जोशीको २०८२ मंसिर ९ गते शल्यक्रिया गरिएको थियो । गत भदौ महिनामा क्यान्सर भएको थाहा पाए पनि आर्थिक अभावका कारण उपचार सुरु गर्न ढिलाइ भएको उनका श्रीमान किरण जोशीले बताउनुभयो । “सडक छेउमा फलफूल तथा तरकारी बिक्री गरेर जीविका चलाउँदै आएका थियौ उहाँले भन्नुभयो रोग लाग्यो सबै सकियो ।” जोशीको परिवारले हालसम्म कमलाको उपचारमा १० लाख रुपैयाँ भन्दाब बढी खर्च गरिसकेको जनाएको छ । महँगो उपचारका कारण थप सहयोग आवश्यक रहेको परिवारको भनाइ छ ।
उपचारमा समस्या आएको थाहा पाएपछि संस्थाका सदस्यहरुबीच छलफल गरि आफ्नै सदस्यहरुहरुबाट पैसा संकलन गरि विरामीलाई हस्तान्तरण गरिएको छाँया श्रेष्ठले बताउनुभयो । संस्थाले यसअघि पनि मानवीय सेवामा काम गर्दै आएको छ ।







