काबुल, २० भदौ – अफगानिस्तानको पन्जशिर उपत्यकामा नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) र तालिवान लडाकूबीचको भीषण युद्ध तीन दिनदेखि जारी छ ।
युद्धमा दुबै पक्षले एक अर्कालाई जितेको दाबी गरेका छन् । पन्जशिरका दुई जिल्ला नियन्त्रणमा लिएको र आफूहरु मध्ये भागतर्फ बढेको तालिवानको दाबी छ । तर, सो दाबीलाई एनआरएफले अस्वीकार गरेको छ । एनआरएफका नेता अहमद मसुदले तालिवानलाई आफ्ना सेनाले पराजित गर्ने दाबी गरेका छन्। त्यस्तै, एनआरएफका प्रवत्ताले पन्जशिरमा भीषण युद्ध जारी रहेको र हजारौ तालिवानलाइ घेराबन्दीमा पारेको बताएका छन् ।
सो समूहका अर्का नेता तथा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति असहज रहेको उल्लेख गर्दै फ्रन्टका फौजले निरन्तर लडिरहने बताए । तालिवानसँग आत्मसर्मपण नगर्ने उनले बताए । ‘हामी असहज परिस्थितिमा छौं, किनकी अहिले तालिबानको हमलामा परेका छौँ, तर कुनै हालतमा आत्मसमर्पण गर्दैनौं ।’ उनले भने । दुबै तर्फ ठूलो क्षति भएको उनले स्वीकारेका छन् । एनआरफको तर्फबाट पूर्व अफगान सुरक्षा निकाय र स्थानीय लडाकू तालिवानबिरुद्ध लडिरहेका छन् ।
काबुलको उत्तरमा रहेको सो उपत्यका अफगानिस्तानको सानोमध्ये एक प्रान्त हो । पहाडको मध्य भागमा रहेको सो प्रान्त परम्परागत रूपमा नै तालिबानविरोधी गढ हो । झण्डै दुई लाख जनसंख्या भएको सो उपत्यकामा इतिहासमा पटक पटक आक्रमण र अतिक्रमणका प्रयास भएका थिए । सन् १९८० को दशकमा रुसी अतिक्रमण बिफल पारिदिएको पन्जशिरबासीले सन् १९९६ मा तालिवानलाई पनि लखेटिदिएका थिए ।
यसैबीच, अमेरिकाले पन्जशिरमा गृहयुद्ध भइरहेको टिप्पणी गरेको छ ।