चितवन ।नेकपा एमालेको १० औं महाधिवेशनका लागि चितवन हुने तय भएपछि जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ता स्थान खोज्ने तयारीमा जुटेका छन । आज नेकपा एमाले जिल्ला कमिटीले भरतपुरमा पत्रकार सम्मेलन गरी सात दिन भित्र उपयुक्त स्थान खोजिसक्नुपर्ने बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एकसाता भित्रै महाधिवेशनको टुंगो लाग्ने जानकारी दिए । एकसाता भित्रै महाधिवेशनको उपयुक्त स्थानको टुंगो लाग्छ, आजबाट नै ठाउंँ खोज्न शुरु भएको छ । पत्रकार सम्मेलनमा पोख्रेलले भने । उनका अनुसार यातायात पहुँच र खाना बस्नको लागि भरतपुर नै उपयुक्त स्थान भएकोले भरतपुर आसपासकै क्षेत्र प्राथमिकतामा राखिने र स्थान गरि केन्द्रमा पठाईने छ ।
महाधिवेशनमा विधान महाधिवेशनमा सहभागी भएका मध्य ५० प्रतिशत सहभागी हुने उनले बताए । विधान महाधिवेशनमा ६ हजार ३२९ प्रतिनिधि सहभागी भएका थिए । यस्तै महाधिवेशनको उद्घाटनमा कम्तीमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने अपेक्षा रहेको उनले बताए ।
यो महाधिवेशन एमालेको मात्रै खुशीको विष्यमात्रै नरहेको र चितवनवासीको लागि पनि खुशी र अवसरको बिषय रहेको पोख्रेलको भनाई थियो । जसका कारण आम जनता तथा अन्य राजनीतिक दलहरुलाई पनि महाधिवेशन सफल पार्न उनले आग्रह गरे ।
राष्ट्रिय अन्तरराष्ट्रिय तत्वहरुले पार्टीलाई कमजोर बनाउने खेल खेले पनि एमाले एक्लैले बहुमत ल्याएर फेरि सरकारको नेतृत्व गर्छ भन्ने सन्देश महाधिवेशनबाट दिईने उनको भनाई थियो ।
एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले महाधिवेशन मुख्यतया दुई मुख्य बिषयमा लक्षित भएको भन्दै पार्टी विभाजन, विश्वासघातका बाबजुत पनि एमाले प्रमुख पार्टी हो भन्ने सन्देश र पुष्टि यही महाधिवेशनबाट दिईने बताए । देश कसरी बनाउने र देशलाई समाजवाद तर्फ कसरी अघि बढाउने भन्ने दृष्टिकोण र सन्देश महाधिवेशनले दिने अधिकारीको भनाई थियो ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ ।