लमजुङ । लमजुङमा दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेसीसहर नगरपालिका–३, बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा एक लाख ५६ हजार ५४० रुपैयाँसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै, कौडाका १६ वटा गोटी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार उनीहरूलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीका समेत प्रहरीचौकीमै लगाउने भएका छन् । पक्राउ परेका उनीहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । रासस