चितवन ।वरिष्ठ अधिवक्ता एवं पूर्वसांसद जगन्नाथ पौडेल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा चितवन जिल्ला कार्य समिति सभापतिको उम्मेदवार हुन् । एमए, बिएलसम्मको पढाई पूरा गरेका पौडेलले २०४३ सालमा बालकुमारी कलेज नारायणगढको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । अहिले उनी बालकुमारी कलेज संचालक समिति अध्यक्ष छन् ।
जिल्ला सभापतिका आकांक्षी पौडेलको राजनीतिक जीवनको प्रारम्भ २०२६ सालतिरै भएको पाइन्छ । त्यतिबेला चर्चित एसएलसी काण्डको नेतृत्व गरेबापत उनी प्रहरी हिरासतमा पुगेका थिए । २०२७ साल बैशाख ६ गते स्थापित नेपाल विद्यार्थी संघको संस्थापक÷प्रतिनिधि उनी संघको मुखपत्र छहरोको प्रधान सम्पादक÷प्रकाशक थिए । छहरो प्रकाशन र पञ्चायतको विरोध गरेबापत उनी २०२८ र २०२९ सालमा जेलसमेत परे । त्यसपछि पनि उनी पटकपटक जेल परे ।
२०३४ देखि ४१ सालसम्म नेपाल ल क्याम्पस काठमाडौँमा प्राध्यापन गरेका पौडेल २०३६ सालको जनमत संग्रहलाई निष्पक्ष बनाउन गठित लयर्स कमिटी फर मल्टीपार्टी सिस्टमको महासचिव थिए । उनको संलग्नता नेपाल मानअधिकार संगठन र एमनेष्टी इन्टरनेशनल नेपालमा पनि रहेको छ । २०३६ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको महासचिव बनेका पौडेल २०४३ सालमा चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष बने ।
२०४२ सालमा नेपाली काँग्रेसले संचालन गरेको सत्याग्रहमा सहभागी बनेका पौडेल २०४६ सालको जनआन्दोलनताका राष्ट्र विप्लवको आरोपमा जेल परे । २०४९ देखि २०५३ सालसम्म तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख बनेका उनी २०५४ देखि २०६० सालसम्म राष्ट्रिय सभा सदस्य थिए ।
आफू जिल्ला सभापतिमा निर्वाचित भएमा विधानसम्मत तरिकाले पार्टी संचालन गर्ने प्रतिवद्धता जनाएका उनले आफू एक कार्यकालको लागि मात्र सभापति बन्ने घोषणा गरेका छन् । उनी भन्छन्, “सभापतिमा निर्वाचित भएँ भने म गुटगत राजनीतिलाई हतोत्साहित गर्दै पक्षपात, मोलाहिजा, भेदभाव नगरी नेता र कार्यकर्ताको परामर्श लिई पारदर्शी तरिकाले काम गर्न चाहन्छु ।”
नेपाली काँग्रेस चितवनलाई सुदृढ, सशक्त एवं गौरव गर्न लायक बनाउन आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउने पौडेल आफू सभापतिमा निर्वाचित भएमा स्थानीय सरकार र प्रशासनलाई पारदर्शी र उत्तरदायी बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँछन् । उनले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गरिसकेका छन् ।
आफू काँग्रेस पार्टी र सामाजिक क्षेत्रमा निरन्तर लागेको व्यक्ति भएकोले जित सुनिश्चित भएको उनको दाबी छ । उनी भन्छन्, “मलाई सर्वसम्मतिको उम्मेदवार बनाउनु पर्छ भन्ने अभियान पनि चलिरहेको छ । त्यसको अभियन्ता पृथ्वीमान गुरुङ अहिले गण्डकी प्रदेश प्रमुख हुनुहुन्छ । सर्वसम्मति भएन भने पनि अत्याधिक समर्थकहरुको सहयोगले म विजयी हुनेछु ।”
“अत्याधिक समर्थकहरुको सहयोगले म विजयी हुनेछु”
“अत्याधिक समर्थकहरुको सहयोगले म विजयी हुनेछु”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु