चितवन । कोरोना कहरका कारण स्थगित भएको वरिष्ठ गायक दीप श्रेष्ठ चितवन आउने भएका छन ।
भरतपुर महानगरपालिका ६ देवनगरर स्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट(एलटिके)हवेलीमा चैत ११ गते गायक श्रेष्ठ चितवन तताउन आउन लागेका हुन् ।
‘एलटिके सरगम’ नाम दिईएको उक्त कार्यक्रम यस अघि अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा नै आयोजना हुने भनिएको थियो । तर कोरोना र प्रतिकुल मौसमका कारण उक्त कार्यक्रम पौष ३० गतेलाई सारिएको थियो । कोरोना भाइरसका कारण पौष ३० गतेको कार्यक्रम अनिश्चित कालका लागि सारिएको थियो ।
शुक्रबार एलटीकले पत्रकार सम्मेलन गर्दै एलटिकेले उक्त कार्यक्रम चैत ११ गते कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । कोरोना भाइरस संक्रमित भएपछि श्रेष्ठले पहिलो पटक सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । गत जेष्ठमा उनलाई कोरोना संक्रमण भएको थियो । शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । १६ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
गायक श्रेष्ठले मृत्युलाई पराजय गरेपछि भएपछि पहिलो पटक चितवनको कार्यक्रममा आफ्नो प्रस्तुती दिन लागेको बताए । उनले आफ्नो पूनर्जन्मको खुशीयालीको रुपमा समेत कार्यक्रम आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गरे ।
यो कार्यक्रमलाई कोरोनामुक्त भएपछि कति गीत गाउन सक्छु भनेर आफैलाई परीक्षण गर्ने अवसरको रुपमा पनि लिएको उनको भनाइ थियो । उनले करीब दुई घण्टा प्रस्तुति दिनेछन् । उनलाई संगीतमा उनकै दृष्टि ब्याण्डले सहयोग गर्नेछ ।
आफु ट्र्याकमा भन्दा पनि लाइभ गाउन रुचाउने समेत उनले बताए । लाइभ गीत गाउन ब्याण्डका अन्य सदस्यहरुले पनि चिनिने अवसर पाउने उनले बताए । गायक श्रेष्ठले ‘म त दुरदेखि आए’, ‘हर रात सपनीमा’,‘वितेका कुरा’,‘एउटै बाटो’, ‘उ यात्री’ ‘सपनालाई अंगालेर’ लगायत दर्जनौ सुपरहिट गीतहरु गाएका छन् ।
रिसोर्टका सञ्चालक देवेन लोहनीले मृत्युलाई जितेपछि पहिलो पटक गायक श्रेष्ठको सांगीतिक कार्यक्रम हुन लागेको बताए । यस कारण पनि यो कार्यक्रम ऐतिहासिक हुने लोहनीले बताए ।
कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रमका प्रवेशका लागि जोडीलाई एक हजार पाँच सय एकललाई एक हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकटसँगै वेलकम ड्रिङ्स र स्न्याक्सको व्यवस्था रहने छ । दर्शकले यस अघि लिएको टिकटकै आधारमा प्रवेश गर्न पाउने रिसोर्टका व्यवस्थापक राजेश शर्मा आचार्यले जानकारी दिए ।
गायक श्रेष्ठ अघि दृष्टिबिहिन कलाकारद्धय चिरीमाया महर्जन, अमला महर्जनको प्रस्तुती रहनेछ । कार्यक्रममा दुई हजार दर्शक उपस्थित हुने अनुमान गरिएको आचार्यले बताए । कार्यक्रम रिसोर्ट परिसरमा रहेको खुला चौरमा हुनेछ । चितवनमा गायक श्रेष्ठको यो पहिलो आउटडोर कार्यक्रम हो । उनले यस अघि इनडोर कार्यक्रम मात्रै गरेका थिए ।