रुपन्देही, ४ वैशाख,
अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो ।
मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उहाँ निर्वाचनमा सहभागी हुन पाउनुभएन ।
“मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउनेजाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ ।”उहाँले सुनाउनुभयो ।
लुम्बिनी–३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आउनुभएको छ ।
पूर्ण अपाङ्गता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उहाँको दुःखेसो छ । “चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्”, उहाँले भन्नुभयो ।
लुम्बिनी–१० का नेत्रबहादुर चुँदालीलाई यसपटकको चुनावमा पनि भोट हाल्न पाइँदैन भन्ने छ । गत निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाएका चुँदाली कसैले जाने–आउने व्यवस्था गरे भोट दिन इच्छुक रहेको बताउनुहुन्छ ।
“मतदाता नामावलीमा नाम छ तर दुवै खुट्टा राम्रोसँग नचल्ने भएकाले भोट हाल्न जानसक्ने अवस्था छैन”, उहाँ भन्नुहुन्छ ।
वडा नं १० कै सुराती धोबी, बबिता थारू, मार्कान्डे थारू र फूलमाया थापा पनि अपाङ्गता भएकै कारण मतदानस्थलसम्म पुग्न नसक्दा मताधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । मतदाता नामावलीमा नाम भएर पनि यसपटकको चुनावमा समेत भोट हाल्न नपाउने हो कि भन्ने चिन्ता उहाँहरूलाई छ ।
अपाङ्गता भएकै कारण निर्वाचनमा सहभागी हुन नसकेका अपाङ्गता भएकाहरू धेरै छन् । मतदान दिएकाले पनि निकै कष्ट खेपेर मतदानस्थल पुग्नुपरेको अनुभव उहाँहरूसँग छ ।
त्यसो त अझै पनि अधिकांश अपाङ्गता भएकाहरूको मतदाता नामावली नै नभएको राष्ट्रिय अपाङ्ग महासङ्घको भनाइ छ ।
आसन्न स्थानीय तहको निर्र्वाचनलाई लिएर राजनीतिक दल र कार्यकर्ता निकै उत्साहित छन् यो बेला । तर सजिलै मतदान गर्ने अवस्था नहुँदा अपाङ्गता भएका व्यक्तिहरू भने निराश छन् ।
“न त हाम्रा उम्मेदवार छन् न हामीलाई भोट हाल्ने ठाउँसम्म लैजाने ल्याउने व्यवस्था छ”, अपाङ्गता भएकी फूलमाया थापा पीडा पोख्नुहुन्छ ।
आफूहरूलाई सरकार र राजनीतिक दलहरुले प्राथमिकतामा नराखेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ ।
“अपाङ्गता भएकाहरूलाई मान्छे नगन्ने परिपाटी अहिले पनि छ, त्यसै यो क्षेत्रलाई सरकार र राजनीतिक दलले प्राथमिकतामा राखेका छैनन”, बौद्धिक अपाङ्गताका अभिभावक लोकनाथ भुसाल भन्नुहुन्छ, “तर हामीले अपाङ्गतामैत्री मतदानस्थल र संरचना निर्माणका लागि निरन्तर दबाब दिइरहेका छौँ ।”
निर्वाचनस्थलसमेत अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएकालाई भोट हाल्न निकै सकस हुन्छ ।
“राजनीतिक दलले अरु मतदाता ओसारपसार गर्छन् तर अपाङ्गता भएकालाई बोक्न गाह्रो मान्छन् आखिर भोट त सपाङ्गले दिए पनि अपाङ्गता भएकाले दिए पनि एउटै हो नि”, लुम्बिनीकी सामाजिक अगुवा मञ्जु ढकाल भन्नुहुन्छ ।
यसअघि भएका सङ्घीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा लुम्बिनी क्षेत्रका अधिकांश मतदाताले भोट हाल्न नपाएको उहाँको भनाइ छ ।