चितवन । चितवनका चारवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त र बढी कारोबार हुने भरतपुर मालपोत कार्यालयमा सेवाग्राहीको चाप ह्वात्तै घटेको छ ।
तरलता अभाव भएसंँगै बैंकले ऋण प्रवाह गर्न बन्द गरेपछि राजश्व संकलन पनि घटेको छ ।
कार्यालयका अनुसार चैतमा १३ करोड ७६ लाखमात्रै राजस्व संकलन भएको छ भने फागुन महिनाको राजश्व संकलन १६ करोड २४ लाख ६८ हजार रुपैंया रहेको थियो । माघ महिनामा भने १४ करोड ३२ लाख ५७ हजार रुपैंया राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
मालपोत कार्यालय भरतपुरका कर अधिकृत हेमकुमार तिमल्सिनाले बैंकले घरजग्गा कारोबारमा लगानी गर्न छोडे लगत्तै कारोबारमा ह्रास आउंँदा राजश्व संकलनमा पनि असर परेको बताए । राजश्व संकलन अघिल्ला महिनाहरुको तुलनामा करीब ७० प्रतिशत गिरावट आएको उनको भनाई छ । कोरोना कहरका कारण आर्थिक शिथिलता बढ्नु र चितवनका जग्गाको भाउ बढ्दै जानुले पनि कारोबारमा ह्रास आएको तिमिल्सिनाले बताए ।
उनका अनुसार दैनिक ३५० भन्दा बढी लिखत पास हुने गरेकोमा अहिले घटेर आधाभन्दा कम लिखत पास हुने गरेको छ । ‘अहिले विदेश जानेको जग्गा रोक्का, अंशवण्डा राजीनामा मात्रै पास हुने गरेको छ ।’ उनले भने ।
मालपोत कार्यालय नजिक नमस्ते धवलागिरी लेखापढी परामर्श केन्द्र सञ्चालन गरेका गोपाल कंडेल अघिल्ला महिनाहरुमा भन्दा हालका महिनाहरुमा घरजग्गा कारोबारमा क्रमश घट्दै गएको बताए । ‘पहिले केन्द्रमा बिहानै ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवाग्राहीको चाप हुन्थ्यो अहिले सुनसान जस्तै छ । को आउला भनेर कुर्नुपर्ने अवस्था छ ।’ कंडेलले भने ।
कार्यालयले आर्थिक वर्ष ७६÷७७ को जम्मा राजस्व ९८ करोड ३१ लाख ५५ हजार थियो । ७७÷७८ मा १ अर्ब ३७ करोड ७४ लाख राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको चैत महिनासम्ममा १ अर्ब ५६ करोड राजस्व संकलन भएको मालपोत कार्यालयले जनाएको छ । घरजग्गाको मुल्यबृद्धि र कोरोना कहर हटेपनि राजश्व संकलन पहिलेका बर्षहरु भन्दा बढी देखिएपनि यो चालु आर्थिक बर्षमा राजश्व संकलन लक्ष्य अनुसार संकलन हुन नसकेको तिमल्सिनाको भनाई छ ।