चितवन । भरतपुरमा विद्युत सर्ट भई आगो लाग्दा एकजनाको मृत्यु भएको छ भने अर्का घाईते भएका छन । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का सकुन्तला पौडेल सुबेदी रहेकी छिन भने भरतपुर महानगरपालिका वडा नम्बर ७ का तरुण थापा घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो सवा १ बजे भरतपुर महानगपा. १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा संचालन रहेको शिखर ईन्सुरेन्स कम्पनीको शाखा कार्यालयका कर्मचारीहरुले कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सर्ट भई आगोलागी हुंँदा सुबेदी र थापा घाईते भएका थिए ।
करेन्ट लागेर गम्भिर घाईते भएकी सुबेदीको उपचारका लागि भरतपुर अस्पताल पुर्याउंँदा चिकित्सकले मृत घोषित गरेका थिए ।सोही ईन्स्युरन्समा कार्यरत अर्का घाईते थापालाई उपचारको लागि चितवन मेडीकल कलेज भरतपुर पठाईएको र उनको अवस्था –मध्यम रहेको प्रहरीले जनाएको छ । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय नागरिकहरुको सहयोगमा १ बजेर ४० मिनेटमा बजे पुर्ण रुपमा नियन्त्रणमा आएको हो । कम्पनीका केही कागजपत्र र फाईलहरु जलेर नष्ट भएको छ । यसबारेमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।