चितवन । नेपाल प्रेस युनियनको नबौं महाधिबेशनका लागि वरिष्ठ उपाध्यक्ष दिपक आचार्यद्धारा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ घोषणा सभाको आयोजना गरी आचार्यको उम्मेदवारी घोषणा गरेको हो ।
वि. सं २०५३ साल देखि स्थानीय स्तरमा सक्रिय पत्रकारिता गर्दै आउनु भएका आचार्य चितवनबाट प्रकाशित नयाँ सृष्टी साप्ताहिकको कार्यकारी सम्पादक, पिपल बोट साप्ताहिकको प्रधान सम्पादकको जिम्मेवारी समेत निर्वाह गरी सक्नु भएको छ । आचार्य कान्तिपुर साप्ताहिकको समाचारदाता, नेपाल साप्ताहीक, समाचार पत्र, हिमालय टाइम्स, च्यानल नेपाल, स्पेस टाइम्स र नयाँ सडक पत्रिकामा काम गर्नु भएको छ ।
उम्मेदवारी घोषणा सभामा बोल्दै आचार्यले पत्रकारिताको स्थायीत्व र श्रमको उचित मूल्याङ्कन आफ्नो मुख्य मुद्धाको रुपमा रहेको बताउनु भएको छ । हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकारहरुको हक अधिकारका लागि आँफु सधै लाग्ने उहाँले बताउनुभयो । उहाले भन्नुभयो “अहिले पत्रकारिता क्षेत्र बिषम परिस्थितिबाट गुज्रिएको छ, यसलाई माथि उठाउन जरुरी छ ।” नागरिकलाई संविधानले प्रदान गरेका अधिकार सुनिश्चितता दिलाउनका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै आचार्यले स्थानीय, प्रदेश र संघिय सरकारलाई मिडिया मैत्रि कानुन बनाउन घचघच्याउने आफ्नो जिम्मेवारी रहेको बताउनु भयो ।
मिडियामा प्रविधिको उच्चतम प्रयोग गर्दै राज्यको प्रतिपक्षको रुपमा उभ्याउनका लागि आफ्नो उम्मेद्वारी रहेको आचार्यले जानकारी दिनुभयो । घोषणा सभामा बोल्दै युनियनका केन्द्रिय सदस्य वसन्त पराजुलीले वरिष्ठ उपाध्यक्षको जिल्ला भएकाले चितवनले अध्यक्षको दाबी गर्नु स्वभाविक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “तल्लो तहबाट संगठन निर्माणमा जुट्नु भएका आचार्यको दाबीलाई सहज रुपमा लिनु पर्छ ।”
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले आचार्यको उम्मेदवारी घोषणा संगै बिजयीको सुरुवात भएको बताउनुभयो । उहाँले भन्नुभयो “युनियनलाई शशक्त वनाउँदै श्रमजीविको पक्षमा लैजानका लागि आचार्यको नेतृत्व आबश्यक छ ।” घोषणा सभामा प्रेस चौतारी बागमती प्रदेशका सह–इन्चार्ज शालिग्राम नेपाल र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य प्रकाशमणी ज्ञवालीले पनि आचार्यलाई शुभकामना दिनुभएको थियो । युनियनको नबौं महाधिबेशन यही साउन ६ र ७ गते मकवानपुरमा हुँदै छ ।