चितवन । नेपाल आदिवासी जनजाती महासंघ चितवनले विविध कार्यक्रम गरेर २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउंँदैे छ ।
महासंघ, चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर दिवसका कार्यक्रम बारे जानकारी दिएको हो । महासंघ चितवनका कार्यबाहक अध्यक्ष महेन्द्र दुराले साउन २४ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहल मा कार्यक्रम गरिन लागेको जानकारी दिए ।
सो अवसरमा बोल्दै दुराले बर्षैपिच्छे मनाईने यो कार्यक्रमले जनजातिको हक अधिकार प्राप्त गर्न मदत पुग्ने बताए । आदिवासी जनजाति अझैपनि समानुपातिक समावेशीताको लागि लडिरहेको बताए । दिवसले आदिवासीहरुको कला संस्कृति जगेर्ना गर्नुको साथै भातृत्वको विकास हुने उनको भनाई थियो ।
बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भाषा र लोकभाकामा बनेका गीतहरु प्रस्तुत गरिने जानकारी दिए । यस्तै साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिने उनले बताए ।
आदिवासी जनजातिहरुले आ(आफ्नो सँस्कृति झल्किने पोषाकमा झाँकी तथा नाच प्रस्तुत गर्ने उनले बताए । आदिवासी जनजातिहरुको धार्मिक पहिचान स्थापित गर्न, राज्यका हरेक निकायमा समानुपातिक समावेसीको सिद्धान्तको आधारमा सम्मानजनक सहभागितालगायतका मुद्धालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बहस गर्ने अवसरको रुपमा दिवस मनाउने गरिएको महासंघ, चितवनका सल्लाहकार पदम गुरुङ्गले बताए ।
‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र सँस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नाराका साथ अगष्ट ९ तथा साउन २४ गते अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाईँदैछ ।