सीएनएन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यस हप्ता पर्ने आफ्नो ६०औँ जन्मदिन भव्य गरी मनाउने तयारी गरेका थिए । मार्थाज भाइनयार्डमा मनाइने तय गरिएको उनको जन्मोत्सवको पार्टीमा विश्व चर्चित हस्तीहरुलाई बोलाइएको थियो । कुल ४०० अतिथि सहभागी हुने भनिएको थियो ।
तर, अधिक संक्रमित मानिएको कोरोनाको डेल्टा भेरियन्ट फैलने चिन्ताका कारण उनको पार्टीको स्तर केही सानो बनाइएको उनकी प्रवक्ताले बताएकी छन् ।
ठूलो संख्यामा अतिथिहरु बोलाउने योजना बनाइरहँदा उनले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको परीक्षणलगायत सुरक्षाका सबै मापदण्डहरु पनि अपनाउने तयारी गरेका थिए । सबै अतिथिको परीक्षण गरिनेदेखि सबै नियमहरु कडा रूपमा पालन गरिने भनिएको थियो । पार्टीकै लागि भनेर २०० स्टाफहरु पनि भाडामा लिइएको थियो ।
तर, बुधबार ६० वर्ष पुगेका ओबामाको जन्मोत्सव समारोहमा अब केवल परिवार र नजिकका साथीहरु मात्र सहभागी हुने भएका छन् । डेल्टा भेरियेन्ट फैलन सक्ने डरकै कारण बाराक र उनकी पत्नी मिशेलले सबै योजना रद्द गराउने निर्णय लिएको प्रवक्ता हेना हेनकिन्सले बताइन् ।
यता, ओबामाको पार्टीकै लागि भनेर कतिपय अतिथिहरु मेसेसुट्स टापुतर्फ लागिसकेको न्युयोर्क टाइम्सले जनाएको छ । सो ठाउँलाई सीडीसीले कोरोना फैलावटको हिसाबले मध्यम भनेर वर्गीकृत गरेको छ, जहाँ खोप लगाउनेको दर पनि उच्च रहेको छ । सुरक्षाका सबै मापदण्डहरु अपनाइरहँदा भाइरसको ठूलो खतरा नरहने अपेक्षासहित पार्टी आयोजनाको तयारी गरिएको थियो ।
केही कन्जरभेटिभहरुबाट आलोचित भइरहे पनि २९ एकडको जग्गामा ओबामाको जन्मदिन भव्य गरी मनाउनेबारे सबैतिर चर्चा भइरहेको थियो । तर, अन्ततः अवस्थाको गम्भीरतालाई हेर्दै उनले नागरिकमा गलत सन्देश नजाओस् भनेर सबैलाई सचेत गराउनका लागि पनि पार्टीलाई सानो स्तरमा परिणत गराएको उनकी प्रवक्ताले बताइन् । ओबामाको पथमा हिँड्ने मानिस धेरै भएकाले पनि यस्तो समयमा ठूलो भिड जम्मा गर्नु उचित नहुने बताइएको हो ।