जनकपुरधाम । सरकारी वकिलको कार्यालयले एसिड बेच्ने व्यवसायीलाई सफाइ दिने धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने भएको छ ।
सोमबार जिल्ला अदालत धुनषाले आरती साहमाथि एसिड छ्याप्ने उनका श्रीमानलाई दोषी ठहर गरेको थियो । तर, एसिड बेच्ने व्यापारीलाई भने सफाइ दिने फैसला अदालतबाट भएको थियो ।
सरकारी वकिल कार्यालयका अधिवक्ता सिताराम अर्यालले जिल्ला अदालतको सोही फैसलाविरुद्ध पुनरावेदन गर्ने जानकारी दिए । सफाइ पाएकाको हकमा फैसला तयार भएपछि पुनरावेदनमा जाने उनको भनाइ छ ।
सोमबार न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराएका व्यवसायी नगेन्द्र साहलाई सफाइ दिने फैसाल गरेको थियो । एसिड छ्याप्ने आरतीका श्रीमान २६ वर्षीय सञ्जीवलाई दोषी ठहर गरेको थियो ।
आदेशलगत्तै पक्राउ परेका व्यवसायी साह दुई लाख धरौटीमा छुटेका थियो । व्यवसायी साह निखिल स्टोरका सञ्चालक हुन् ।
एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउँदै आरती साह मंगलबार जिल्ला अदालत पुगेकी थिइन् । उनले एसिड बेच्नेलाई सफाइ दिएकोप्रति आपत्ति जनाउँदै न्यायधीशमाथि आक्रोश पोखेकी थिइन् ।
जनकपुरधाम उपमहानगर–७ स्थित डेरामा बस्दै आएकी आरती र छोरी रियामाथि सञ्जीवले ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई १५ वर्ष ६ महिना कैद हुनुपर्ने र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने मागसहित जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो ।