धरान (सुनसरी । धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा आजदेखि बोलबम मेला सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्घाटन गर्नुभयो ।
मुख्मन्त्री कार्कीले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका माध्यमबाट प्रदेशको समृद्धि र रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले पिण्डेश्वर क्षेत्रलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई आर्थिक समृद्धिको सम्भावनाका रुपमा पनि विकास गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सनातन धर्म र संस्कृतिसँग मात्र होइन, पिण्डेश्वर हाम्रो समृद्धिको आधार पनि बन्नसक्छ । यसमार्फत रोजगारी सिर्जना गर्दै मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दिशामा योगदान पुग्छ ।”
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा रहेको बराहक्षेत्र, प्राचीन हरिद्वार, पिण्डेश्वर, बुढासुब्बा, हलेसी महादेव, पाथीभरा मन्दिर, तथा किरात धर्मगुरु फाल्गुनन्दले स्थापना गर्नुभएको माङ्सेबुङ क्षेत्रलाई महत्वपूर्ण धार्मिक र सांस्कृतिकस्थलका रूपमा चिनाउँदै तिनीहरूको संरक्षण र समूचित विकासका लागि प्रदेश सरकारले बहुवर्षीय गुरुयोजना सुरु गरिसकेको बताउनुभयो ।
उहाँले यस्ता स्थानहरूको पूर्वाधार निर्माण, प्रचारप्रसार, तथा धार्मिक–सांस्कृतिक पर्यटनको विकासलाई प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार ती स्थललाई केबल तीर्थस्थलका रूपमा होइन, पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै देशविदेशबाट श्रद्धालु तथा पर्यटक तान्ने योजना अघि सारिएको छ ।
बृहत् कुम्भक्षेत्र विकासका लागि परियोजना तयार भइसकेको र त्यसको कार्यान्वयन प्रारम्भिक चरणमा रहेको उहाँको भनाइ छ । उहाँले प्रदेशमा निर्माणाधीन सडक पूर्वाधारमा ढिलासुस्ती भइरहे पनि तीव्रता दिने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले धरान नगरपालिका क्षेत्रको समग्र विकास र विस्तारका लागि एकीकृत विकास अभियान सञ्चालन गर्नु आवश्यक भएको उल्लेख गर्दै प्रदेश सरकार त्यसप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र भक्तजनलाई ओतको व्यवस्थापन गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताउनुभयो ।
सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । मेलामा विशेषगरी पहेँलो लुगा लगाउने, खाली खुट्टा हिँडेर बराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ । रासस