दार्चुला, १७ भदौ – दार्चुलाको व्यास गाउँपालिका- २ का युवा जयसिंह धामी भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिँदा महाकाली नदीमा बेपत्ता भएको आज ३५ दिन पूरा भएको छ ।
उनको घरपरिवारले स्थानीय संस्कारअनुसार आज ३५ दिने मृत्यु संस्कार सम्पन्न गरेका छन् । अल्पायुमै मृत्यु भएकाहरूको ३५ दिनमै मृत्यु संस्कार सम्पन्न गर्ने परम्पराअनुसार बिहीबार बोकाको बलि दिई मृतक धामीको मृत्यु संस्कार सम्पन्न गरिएको उनका भाइ नरेन्द्रसिंह धामीले जानकारी दिए ।
जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा छानविन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले मंगलबार प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रतिवेदनको संक्षिप्त विवरण उल्लेख गरेको छ ।
समितिले घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी कारवाही हुनुपर्ने सिफारिस गरेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता, छानविन समितिले एसएसबीको संलग्नताबारे प्रस्ट नबोलेको भन्दै मृतक धामीको परिवारले असन्तुष्टि जनाएको छ । भारतीय एसएसबीले तुइन खुस्काएकाले महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीहरूले बयान दिइसकेको अवस्थामा पनि एसएसबीले नै घटना गराएको भनेर प्रतिवेदनमा नसमेटिनु दुखद् भएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले गुनासो गरे ।
उनले भने, ‘भारतसँग डराएर सत्य बाहिर ल्याउन नखोजिएको हो कि ? सोझा, गरिब जनताले यसरी नै मर्नुपर्ने हो ?’
प्रतिवेदनको पूर्ण पाठ आइसकेपछि परिवारले छानविनका विषयमा बोल्ने उनको भनाइ छ । छानविन समितिले जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ती र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्नुका साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन, पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।