चितवन । भरतपुर महानगरपालिका वडा नं ४ दर्गाचोकमा दसैँको नवमीको दिन भीमबहादुर विश्वकर्माको हत्या भयो । दलित अभियन्ता तथा दलित संघसगठनहरुले ५८ वर्षीय भीमबहादुरलाई जातीय विभेदका कारण हत्या गरिएको दाबी गर्दै आएका छन् । दलित अधिकारकर्मीहरुले विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय चितवनमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
दलित अधिकारकर्मीहरुले जातीय विभेदका कारण हत्या भएको दावी गरेका छन् । उनीहरुले मन्दिर प्रवेश गर्न खोज्दा हत्या भएको बताउँदै आएका छन् । मन्दिरमा पुजा गर्न पाउनुपर्छ भन्दा एक जना दलितले मृत्युवरण गर्नपरेको भन्दै उनीहरुले यो घटनालाई गैर दलितले दलित माथि गरेको ठुलो अत्याचार र विभेद ठानेका छन् । चौविस कोठीबाट दलित अधिकारकर्मीहरु प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै तामाङले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको लागि आफ्नो समन्यकारी भुमिका रहने बताए । दलितहरुले भिमबहादुरलाई सहिद घोषणा गर्नुपर्ने माग गरेका छन् ।
यसबीचमा दलित मुक्ति संगठनले घटनाबारे स्थलगत अध्ययन गरेको थियो । दुर्गाचोकमा रहेको मन्दिरमा भेला भएका स्थानीयका बीचमा विश्वकर्माले ‘यो मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने कि नपाउने ?’ भनेर प्रश्न गर्दा उनको हत्या गरिएको सो संगठनको जिकिर छ ।
नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति निकालेर जातीय विभेदका कारण भीमबहादुरको हत्या भएको भन्दै हत्याराहरूमाथि कडा कारवाही र परिवारलाई न्यायपूर्ण क्षतिपूर्तिको माग गरेका छन् । हत्यामा संलग्न रहेका भनिएका दुईजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
आरोपीहरुमाथि ‘ज्यान मार्ने कसुर’ मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले चितवन प्रेसलाई बताए । तर, अनुसन्धानका क्रममा जातीय विभेद भएको नखुलेको उनले बताएका छन् । उनले भने, ‘अनुसन्धान भइरहेको छ, हत्याको कारण खुलिसकेको छैन, तर जातीय विभेद भएको देखिदैन ।
लंकु दुर्गा चोकमा छिमेकी सीताराम बस्नेत र सोही क्षेत्रमा फार्मेसी सञ्चालन गरेका दीलीप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको पिडित परिवारको दाबी छ । घटनामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले दुबै जनालाई पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको छ । आफनो बुबालाई दलित भएकै कारण हत्या गरिएको मृतकका छोरा किसान सुनारले बताउँदै आएका छन् । भीमको कुटपिटपछि टाउकोको पछाडी भागमा चोट लागेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ ।