काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । आइतबार देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितका विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।
उसले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ ।
“प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टी सहितको विरोध कार्यक्रमहरू सम्पन्न भएका छन् । मिति २०७८ कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिईने भएकाले काठमाडौं उपत्यकामा रहनुभएका सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई उक्त कार्यक्रममा बिहान १०ः३० बजे नेबाएमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टी सहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ,” बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
देशभरका बार इकाइका पदाधिकारीहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिने बारले जनाएको छ ।
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै बारले उनको राजीनामा माग्दै आएको छ ।