चितवन । कोरोना महामारीले प्राय सबै क्षेत्रमा असर गर्यो । यसबाट कुनै क्षेत्रपनि अछुतो रहेन । तर यसबाट सबै भन्दा बढी मारमा पर्ने क्षेत्र चलचित्र पर्यो । दोस्रो चरणको लकडाउन पश्चात पनि अरु व्यवसाय खुले, चलायमान बने तर चलचित्र क्षेत्रमा अझै बौरिन सकेकोे छैन । कति कलाकार , प्राविधिक काम बिहिन भए, विस्थापित पनि भईसके जसका कारण केही निर्माता निर्देशकहरु प्रदर्शनको तयारीमा रहेका चलचित्रलाई समेत प्रदर्शन गर्न डराइरहेका छन् । किनकी हलमा चलचित्र चलाएर लगानी उठ्न अहिले सम्भवनै छैन ।
लगानी उठाउन हम्मे पर्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको अवस्थामाmसलकै चर्चित लक्की मिडिया हाउसले “प्रिमियर शो” गर्ने भएको छ ।
दर्शकको उपस्थिति कस्तो हुने हो भन्ने हलवालाहरुलाई नै चिन्ता भइरहेका बेला प्रिमियर शो गर्नु आफै पनि जोखिम र मुश्किल प्रयास हो । तर लक्की मिडिया हाउसले चलचित्र क्षेत्रकै उत्थान गर्ने र टेवा पुग्ने उद्धेश्यले उक्त प्रिमियर शो गर्ने भएको हो । “कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ हामीले प्रिमियर शो आट्यौं ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले भने ।
यसै शिलशिलामा लक्की मिडिया हाउसले चलचित्र ’चपली हाइट ३’ को प्रिमियर शो गर्ने भएको हो । पौष १ गते साँझ ६ बजे क्युएफएक्स जलमा सिनेमा हल, नारायणगढमा मा प्रिमियर शोको आयोजना गरिएको छ । कार्यक्रमको तयारी तिब्र पारिएको लक्कीले जानकारी दिए । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ,अर्पण थापा, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जिबन भट्टराई र सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।