चितवन । राप्रपा चितवनले पृथ्वी जयन्ती भव्यरुपमा मनाउन ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । राप्रपा चितवनको विशेष बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारी दिए । जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको संयोजकत्वमा मुल आयोजक समिति बनाइएको छ । राप्रपा चितवनले वडा, नगर, प्रदेश र जिल्ला कार्यसमितिका कार्यालयहरुमा पुस २७ गते बेलुका ७ बजे दीपप्रज्वलन गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता भण्डारीका अनुसार २७ गते विहान ११ बजे पञ्चैबाजा, सांस्कृतिक झाँकि सहितको र्यालीले भरतपुर बजार परिक्रमा गरिने छ । र्यालिपछि जिल्ला पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको योगदानबारे चर्चा सहितको कार्यक्रम हुनेछ । १७७९ पुस २७ मा जन्मेका पृथ्वीनारायण शाहले छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । पृथ्वीनारायणलाई राष्ट्र निर्माताका रुपमा लिने गरिन्छ । २०१२ देखि मनाउने गरिएको राष्ट्रिय एकता दिवसलाई २०६२(६३ पछि सरकारले औपचारिक रुपमा मनाउन छाडेको थियो । राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस घोषणा गरेर सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै आएको छ ।