चितवन । नेपाली कांग्रेस चितवनले वडातहबाट सुझाव संकलन गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।गत शनिवारबाट वडा तहमा गएर सुझाव सकलन गरेको काङ्ग्रेसले ९८ वटै वडाको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
चुनाव लक्षित घरदैलो अभियानका क्रममा सुझाव संकलन कार्य भइरहेको छ । ‘घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत चौथो दिन आज मगलबार पनि ९८ वटै वडामा घरदैलो अभियान भैरहेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ५ दिने अभियान लगभग अन्तिम चरणमा पुगेको बताउनु भयो ।
उहाँले वडातहमा कांग्रेसका सिद्धान्त, नीतिबारे सर्वसाधरणलाई प्रशिक्षण समेत गराउन अभियानले ठुलो सहयोग गरेको बताउनुभयो । वडाभित्रका टोल–टोलमा घरदैलो अभियान मार्फत कांग्रेसको पक्षमा जनमत ल्याइने खनालको भनाइ छ ।
आगामी स्थानीय तहको निर्वाचनमा यसपाली चितवनका धेरै वडाहरु जित्ने योजनामा कांग्रेस रहेको उहाँले बताउनुभयो ।
वडामा खटिएर गएका प्रतिनिधिहरुले टोल टोलमा समिति गठन, सर्वसाधारण तथा मतदातालाइ कांग्रेसमा मतदान गर्न अभिप्रेरित गर्ने काम भइरहेको कांग्रेस चितवनका सचिव सुर्य अर्यालले बताउनु भयो ।५ दिनसम्म वडामा रहेर प्रतिनिधिहरुले काम गर्ने छन् ।
५ दिन पछि वडागत रुपबाट प्रतिबेदन पेश हुन्छ, त्यो प्रतिबेदन माथिको अध्ययन गरेर जिल्ला कार्यसमितिले एउटा खाका तयार गर्छ अर्यालले भन्नु भयो ।पार्टीका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडातहमा खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा जितका लागि गर्नुपर्ने कामहरु लगायतका विषयमा पनि अध्ययन गर्ने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।अभियान भोलि बुधबार सकिदै छ ।