चितवन । चितवनमा बन्द गराउँदै हिँड्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउन खोज्ने ९ जना र बाइपास सडकमा टायर बाल्न खोज्ने २ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। पक्राउ पर्नेमा बन्दको आह्वान गर्ने विप्लव माओवादीका जिल्ला अध्यक्ष सन्देश पौडेललगायतका नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
‘गाडीको जबरजस्ती चाबी खोस्न खोज्ने नौ जनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ। अरु दुई जना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्’, चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले भने।
खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण चितवनमा सामान्य प्रभाव परेको छ। बजारमा अधिकांश पसलहरु बन्द भएका छन्। मालबहाक र लामो दुरीका यात्रुबहाक गाडीहरु छिटपुट चलेका छन्।
मोटरसाइकल र अटोलगायतका साना सवारीसाधन निर्वाधरुपमा चलेका छन्। केही यात्रुहरु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। शैक्षिक संस्थाहरु बन्द भएका छन्। जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ।
आज बन्द आह्वान गरिए पनि सबै सरकारी कार्यालयहरु खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए। ‘सरकारी कार्यालयहरु हिजो अस्तिजस्तै आज पनि खुल्छन्। केहीले स्वतस्फूर्तरुपमा गाडी चलाउनुभएको छैन। राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई आज बिहान नियन्त्रणमा लिएका छौँ’, उनले भने।