चितवन । हरेक बर्ष लिटल फ्लावर स्कुल, नारायणगढले आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ (अन्तर स्कुल नृत्य प्रतियोगिता) मा न्यू होराइजन स्कुल क्षेत्रपुरले प्रथम स्थान हासिल गरेको छ भने द्धितिय स्थान सनराइज स्कुल भरतपुरले प्राप्त गरेको छ । आज स्कुलमा भएको प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल भएको होराइजन स्कुललाई ३० हजार रुपैयांँ नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो र द्धितिय स्थान हासिल गर्न सफल सनराइज स्कुलले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो
यस्तै लिटल फ्लावरको यो चौथौं संस्करण अन्तर्गत भएको नृत्य प्रतियोगितामा तृतीय स्थानमा आदिकवि भानुभक्त मावि नारायणगढ र बेष्ट कोरियोग्राफरको स्थान अर्चिड स्कुलले भरतपुरले हासिल गरेको छ । आदिकवि भानुभक्तले १५ हजार रुपैंया ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने अर्चिड स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा चितवन र नवलपुरका गरी २५ वटा स्कुलले सहभागिता जनाएका थिए ।
सो अवसरमा स्वागत मन्तव्य दिदैं लिटर फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तरस्कुल बीच हुने यस्ता प्रतियोगिताले भाइचाराको सम्बन्ध स्थापना गर्न र विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले हरेक बर्ष नृत्य लगायत अन्य कार्यक्रम गर्दै आएको बताए । ‘यस्ता कार्यक्रमले स्कुलबीचको एकता र हारमोनी पनि कायम रहन्छ, फादर रोवीले भने, विद्यार्थीको नेतृत्व र व्यत्तित्वको पनि विकास हुन्छ ।’ अध्ययनको साथै अतिरित्त क्रियाकलाप विद्यार्थीको लागि अपरिहार्य रहेको भन्दै रोवीले यस्ता कार्यक्रमलाई स्कुलले निरन्तरता दिदै आएको बताए । ‘हामीले नृत्य लगायत अन्तरस्कुल खेलकुद ,हाजिरीजवाफ लगायत विज्ञान प्रविधि प्रर्दशनी तथा प्रतियोगिता आयोजना गर्दै आएका छौं , उनले भने, यस्ता कार्यक्रमहरु स्कुलले प्राथमिकतामा साथ गर्दै पनि आएको छ ।’
नृत्य प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि चलचित्र क्षेत्रकी अभिनेतृ रेखा थापाले नृत्य प्रतियोगिता विद्यार्थीहरुको लागि सिर्जना र प्रतिभा देखाउने मौका भएको बताईन । विद्यार्थीले आफ्नो प्रतिभालाई तिखार्दै लैजानुपर्ने भन्दै उनले यसले नेपाली कला ,संस्कृतिको जगेर्ना गर्न समेत मदत पुग्ने बताईन ।
कार्यक्रममा तीनजना समुहको निर्णायक मण्डलले प्रतियोगी छनौट गरेका थिए । नृत्य प्रतियोगितामा नेपाली संस्कृति, राष्ट्रभक्ति तथा विभिन्न जातजातीको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।