चितवनः नेपाली काँग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउने भएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न पदाधिकारी बैठकले यही पुस १६ गते महामानव बिपि कोईराला मेलमिलापको नीति लिएर नेपाल फर्किएको दिनको उपलक्षमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
वि. सं. २०३३ साल पुस १६ गते महामानव बिपि कोईराला मेलमिलाप र एकताको नीति लिएर भारतबाट नेपाल फर्कनु भएको थियो । सोही दिनको सम्झनामा काँग्रेसले मेलमिलाप दिवस मनाउदैं आएको छ । काँग्रेस चितवनका सचिब उत्तम जोशीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ९ हाकिमचोकमा रहेको चितवन मिड टाउन रिसोर्टमा कार्यक्रमको आयोजना गरिएको छ । सोही कार्यक्रममा नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा निर्वाचित केन्द्रिय सदस्य एबं प्रदेश सदस्यहरुलाई सम्मान समेत गरिने उहाँले जानकारी दिनुभयो । यस संगै काँग्रेसका तर्फबाट प्रदेश मन्त्री वन्नुभएको चितवनका दुई जना प्रदेश सांसदहरु बलराम पौडेल र मिलनबाबु श्रेष्ठलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।